बारीभरि लटरम्म फलेको सुन्तला यहाँका किसानको मुख्य आयस्रोत हो । कोदो फल्ने बारी र धान फल्ने खेत मासेर किसानले सुन्तलाको बगान बनाएका छन् ।
बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई यतिबेला सुन्तला बेच्न भ्याइनभ्याई छ । सुन्तला बिक्री गर्न किसान हतारमा छन् । समयमै सुन्तला नटिपे नयाँ फुल नलाग्ने र अर्को वर्ष उत्पादनमा कमी आउने किसानलाई चिन्ता छ । सिगानाको सुन्तला खरिद गर्न व्यापारीलाई पनि उत्तिकै हतार छ । सुन्तला खरिदका लागि उनीहरुबीच हानथाप हुने गरेको छ।
व्यापारी बगानमै पुगेर मोलमोलाइ गर्न थालेका छन् । पोखरा, चितवनदेखि बागलुङ र म्याग्दीसम्मका व्यापारी सुन्तला खरिद गर्न आउन थालेका बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजन जिसीले बताए। “सुन्तला खरिद गर्न दैनिक व्यापारी आउन थालेका छन्”, उनले भने, “उचित मूल्य दिनेहलाई किसानले बगाननै ठेक्कामा दिन थालेका छन् ।”
सिगानामा साना–ठूला गरी ७० बगान छन् । बजारसम्म पु¥याउँदा दोब्बर फाइदा लिन सकिने भएकाले व्यापारी यहाँको सुन्तलाप्रति आकर्षित भएको जिसीले बताए। बगानमै ठेक्का लिँदा प्रतिकिलो ४० रुपैयाँ देखि ५० रुपैयाँ सम्ममा सुन्तला बिक्री भइरहेको छ । बजारमा प्रतिकिलो १०० रुपैयाँ भन्दा बढीमा बिक्री हुने गरेको छ ।
डोके व्यापारीले समेत बगानबाट प्रतिकिलो ५० रुपैयाँमा उठाएको सुन्तला बजारमा १०० रुपैयाँका दरले बिक्री गर्ने गरेका छन् । सुन्तला बिक्रीबाट गत वर्ष झण्डै रु एक करोड गाउँमा भित्रिएको थियो । यसपाली गत वर्षभन्दा सुन्तला कम फलेको कृषक अनन्त खड्काले बताए।
व्यापारी बगानमै आउन थालेपछि किसान उत्साहित बनेका छन् । “बगानबाटै व्यवसायीले सुन्तला उठाउँदा टिप्ने, स्तरीकरण गर्ने र बिक्रीका लागि ढुवानी गर्ने झण्झट कम हुन्छ”, खड्काले भने।