तामिन कृषि बहुउदेश्य सहकारीले एक महीनामै रु एक करोड बराबरको सुन्तला बिक्री गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित उक्त सहकारीले गत मङ्सिर २० देखि पुस १९सम्ममा उक्त मूल्य बराबरको सुन्तला बिक्री गर्न सफल भएको हो ।
“मङ्सिर २० गतेबाट सुन्तला बिक्री गर्न शुरु गरेका थियौँ, अहिलेसम्म रू एक करोडको सुन्तला बिक्री भएको छ” सहकारीका अध्यक्ष हरिबहादुर नेपालले भने। उनका अनुसार सहकारीमा आबद्ध ८५ कृषक सदस्यले ८० बिघा जमीनमा सुन्तला खेती गरेका छन् ।
गत वर्ष सहकारीले रु दुई करोड बराबरको सुन्तला बिक्री गरेको थियो ।
उक्त सहकारीमा आबद्ध तामिन, ठङराङ, साठीमुरे, न्याङ्दीखोला, कमेरघाट, निबुवाडाँडाका कृषकले १० बिघासम्ममा सुन्तला खेती गर्दै आएका छन् ।
सहकारीले सुन्तलाको पकेट क्षेत्रअन्तर्गत बेलाबेलामा तालीम दिनाका साथै सुन्तलाको बिरुवासमेत वितरण गरेको थियो । यसबाट किसानको आर्थिक अवस्थामा पनि सुधार भएको उनको भनाइ थियो ।
सुन्तला किसानका अनुसार ग्रेड नगरेको सुन्तला यतिबेला प्रतिकिलो रु ६५ देखि ७० मा बिक्री भइरहेको छ भने ग्रेड गरेको सुन्तला प्रतिकिलो रु १०० मा बिक्री भइरहेको छ । तामिनको सुन्तलाको मुख्य बजार मुग्लिन हो । गोर्खा, लमजुङ, चितवन र पूर्वका जिल्लामा समेत यहाँको सुन्तला पुग्छ । दुई वटा पात भएको सुन्तला तामिनको सुन्तला भन्ने बुझिन्छ ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रले इच्छाकामना–५ र ६ मा रहेको तामिन क्षेत्र, तल्लो काउले क्षेत्र, ३ मा रहेको ढाप र साठीमुरेको केही भागलाई सुन्तला पकेट क्षेत्र घोषणा गरिएको छ । केन्द्रका प्रमुख सुधीर श्रेष्ठका अनुसार झन्डै १५ हेक्टर जमीनलाई सुुन्तलाको पकेट क्षेत्र घोषणा गरिएकोे हो ।–सुरेन कुँवर