चिनी उद्योगीले चिनीको कारखानाद्धार मूल्य ७८ रूपैयाँ १० पैसा बनाएका छन्। सरकारले उखुको मूल्य बढाएको भन्दै उनीहरुले ६३ रुपैयाँबाट बढाएर ७८ पुर्याएका छन्।
सरकारले उखुको मूल्य ४ सय ७१ रुपैयाँ तोकेपछि चिनी उद्योग सङ्घले चिनीको मूल्य निर्धारण गरेर उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा पठाएको थियो।
सरकारले अघिल्लो साता उखुको मूल्य प्रतिक्वीन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा तोकेको थियो। सोही मूल्यको आधारमा आफ्नो लागतसहित चिनीको एक्स फ्याक्ट्री मूल्य निर्धारण गरेको सङ्घले जानकारी दिएको छ।
यसअघि पनि चिनीको विषयमा थुप्रै विवाद भएका थिए। चिनीको विषयमा छानविन गर्न विभिन्न समिती समेत गठन भएको थियो।
सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्न भन्दै चिनीको आयातमा परिमाणात्मक प्रतिबन्ध लगाएको थियो।
विदेशबाट आउने चिनीमा रोक लगाएसँगै उद्योगीहरुले एक्कासी मूल्य बढाएका थिए। चाडपर्वकाे मुखमा मूल्य बढाएपछि संसदीय समितिले पनि छानविन गरेको थियो। तर उखुकाे मूल्य बढेकाे माैका छाेपी उनीहरुले मूल्य बढाएका छन्।