कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले एक वर्षभित्र किसानलाई मलको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।
मन्त्री खनालले कृषि क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न आफूले छुट्टै किसान विश्वविद्यालय र किसान आवासीय प्रशिक्षण केन्द्र स्थापना गर्न लागेको पनि जानकारी दिए।
राष्ट्रिय किसान आयोगको दोस्रो स्थापना दिवसको पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले किसानलाई प्रविधिसँग जोडेर सरकारले कृषि क्षेत्रमा सुधार ल्याउन चाहेको पनि स्पष्ट पारे।
मन्त्री खनालले आफूले दूधको गुणस्तर सुधारमा उल्लेख्य प्रगति गरेको दाबी पनि गरे।
कार्यक्रममा बोल्दै पूर्व कृषिमन्त्री हरिबोल गजुरेलले कृषकको जीवनमा सुधार ल्याउने गरी कृषिसम्बन्धी नीति तय गर्न सरकार र राष्ट्रिय किसान आयोगसँग माग गरे।
उनले कृषि गतिविधिमा प्रत्यक्ष असर पार्ने खालका नीति, नियम बनाउन पनि आयोगलाई सुझाव दिए।
पूर्व कृषिमन्त्री गजुरेलले किसान आयोगले किसानहरूको दैनिक गतिविधिसँग सम्बन्धित भएर सरकारलाई आवश्यक परामर्श दिनुपर्ने आवश्यकता पनि औंल्याए।