स्वदेशमा कफीको उत्पादन बढ्दै जाँदा आयात घट्दै गएको छ। उत्पादनले आयात मात्रै घटाएको छैन, निर्यात समेत बढेको छ।
आर्थिक वर्ष २०७२/७३ मा ४३४ मेट्रिक टन कफी उत्पादन भएकोमा ७३/७४ मा ४६६ र ७४/७५ मा ५१३ मेट्रिक टन उत्पादन भएको छ।
आर्थिक वर्ष २०७२/७३ मा १०५ मेट्रिक टन कफी आयात भएकोमा ७३/७४ मा घटेर ९९ र ७४/७५ मा ८४ मेट्रिक टनमा सीमित भएको छ।
त्यस्तै कफीको निर्यात समेत बढेको छ। आर्थिक वर्ष ०७३/७४ मा ९४ मेट्रिक टन निर्यात भएकोमा ७४/७५ मा १६३ मेट्रिक टन पुगेको छ। उत्पादन कम हुँदा विदेशमा मागअनुरुप कफी निर्यात गर्न नसकिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक दिपक खनाल बताउँछन्।
‘अहिले नेपाली कफीको विदेशमा ८ हजार मेट्रिक टन माग छ। हामीले वार्षिक जम्मा ५ सय १३ मेट्रिक टन उत्पादन गर्दै आएको छौँ’ उनले भने। माग अनुरूपको कफी उत्पादन हुन सकेमा देशको व्यापार घाटालाई नै कफीले राहत पुर्याउने उनले बताए।
निर्यात बढे पनि निर्यातको तुलनामा आयात भने झण्डै दुई गुणा बढी छ। नेपालमा कफी उत्पादनको सम्भाव्यताको तुलनामा एकदमै कम उत्पादन भएको खनालले बताए।
उनका अनुसार नेपालमा कफीको व्यवसायिक फार्मिङ हुन नसक्नुले पनि उत्पादन बढ्न नसकेको हो। अहिले साना किसानले मात्र कफी उत्पादन गरेकाले त्यसमा ठूला व्यवसायी भित्र्याउन पर्नेमा उनको जोड छ।
बोर्डको अध्ययन अनुसार ११ लाख हेक्टर जमिन कफी उत्पादन हुने जमिन हो। ९० हजार हेक्टर जमिन कफी उत्पादनका लागि अत्यन्तै उपयुक्त मानिन्छ। हाल करिब २७ सय हेक्टर जमिनमा मात्रै कफी उत्पादन भइरहेको छ।
कफी विज्ञ भोला कुमार श्रेष्ठ चरम जनशक्तिको अभाव नै कफी उत्पादन हुन नसक्नुको मुख्य कारण रहेको बताउँछन्। ‘अहिले किसानले लगाएको कफी आफूले टिप्न नसकेर आफै टिपेर लैजाउ भन्ने स्थिति छ’ उनले भने, ‘१ हेक्टरमा १ टन कफी उत्पादन हुन्छ। ९० हजार हेक्टर जमिनमा उत्पादन गर्ने हो भने त्यति नै उत्पादन हुन्छ।’
११ सय मिटर भन्दा माथि फ्लस फ्रि जोन, १५ देखि २४ सेन्टिग्रेटको तापक्रप, ४५ डिग्री भन्दा कम स्लोप भएको १५ देखि १९ सय मिलिमिटर पानी पर्ने जग्गा कफीका लागि उपयुक्त हुन्छ। यस्तो जग्गा ९० हजार हेक्टर छ। यस्तो जग्गामा काम गर्ने जनशक्ति नभएको उनको भनाई छ।
हाल नेपालमा अराविका जातको कफी खेती हुँदै आएको छ। साथै रोबुष्टा जातको कफीको लागि सम्भाव्यता अध्ययन भइरहेको बोर्डले जानकारी दिएको छ। नेपालको ४३ जिल्लामा साना किसानले व्यावसायिक कफी खेती गर्दै आएका छन्।
आ.व | रोपण क्षेत्र (हे) | उत्पादन (मे.ट) | आयात | निर्यात |
| | | परिमाण(मे.ट) | मूल्य (रू.हजारमा) | परिमाण(मे.ट) | मूल्य(रू.हजारमा) |
२०७२/०७३ | २६१८ | ४३४ | १०५ | १०७९०१.०० | १११ | ५५५४१.०० |
२०७३/०७४ | २६४६ | ४६६ | ९९ | ८४५३८.९३ | ९४ | ५०४०२.४२ |
२०७४/०७५ | २६५० | ५१३ | ८४ | ९३७२५.४५ | १६३ | ६५८९१.९४ |
स्रोतः राष्ट्रिय चिया तथा कफी विकास बोर्ड