व्यावसायिक किबीखेती विस्तारका लागि बेनी नगरपालिका–३ भकिम्लीका किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको छ।
केही वर्षअघि परीक्षणका रुपमा गरिएको किबीखेती सफल भएपछि बेनी नगरपालिकाको सहयोगमा वडा कार्यालय– ३ ले त्यहाँका ४२ घरधुरी कृषकलाई ८१५ कलमी गरिएका किबीका बिरुवा निःशुल्क रुपमा वितरण गरिएको वडा अध्यक्ष पदम पुनले जानकारी दिए।
छाप, भुकभुके, सीम, मुसुङ र डोलेका कृषकलाई प्रतिव्यक्ति ९ देखि १४५ सम्म किबीका बिरुवा वितरण गरिएको छ । सरकारी नर्सरीबाट प्रतिबिरुवा ११० रुपैयाँमा चार सय र निजी नर्सरीबाट ३५० का दरले ४१५ गरी कुल ८१५ बिरुवा खरीद गरिएको थियो।
सङ्घीय सरकारको एक व्यक्ति, एक बिरुवा कार्यक्रम अन्तर्गत बेनी नगरपालिकाले किबीखेती विस्तारका लागि तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
लहरा प्रजातीको किबी समुद्री सतहदेखि एक हजार २०० देखि दुई हजार ५०० मिटर उचाइको भूगोलमा खेती गर्न सकिन्छ । व्यावसायिक महत्व बुझ्नुका साथै आम्दानीको राम्रो सम्भावना भएकाले किबी खेतीतर्फ म्याग्दीका कृषकको आकर्षण बढेको छ ।
बोटमा ५० देखि ७० किलोसम्म फल लाग्ने किबी प्रतिकिलो चार सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । स्वादिलो, धेरै पौष्टिक तत्ब पाइने र स्वस्थ्यकर मानिने किबीको मुख्य उपभोक्ता पर्यटक, विदेशमा रहेका र त्यहाँबाट फर्किएका नेपाली हुन् ।