कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनाल ‘बल्देव’ लाई दाङको ‘बदिया’ भाले उपहार दिइएको छ।
पाँच नम्बर प्रदेशस्तरीय प्रथम पोल्ट्रि महोत्सव एवम् प्रदेर्शनी–२०७५ को उद्घाटन गर्न दाङको घोराही आएका मन्त्री खनाललाई बिहीबार आयोजकले दाङको पहिचानको रूपमा स्थापित बदिया भाले उपहार दिएका हुन्।
भाले बास्न थाले लगतै त्यसको अण्डकोष निकालेर खसी बनाउने विधिलाई बदिया भाले भन्ने गरिन्छ।
केही वर्षयता दाङको बदिया भालेको माग र चर्चा परिचर्चा राजधानी काठमाडौंलगाएत देशका विभिन्न ठूला सहर बजारमा हुँदै आएको छ।
यहाँका किसानले व्यवसायिक रूपमा बदिया भाले तयार पारेर लाभ लिँदै आएको भए पनि त्यसको व्यवसायिक रूपमा प्रर्वद्धन भने सकिरहेको छैन।
पछिल्लो समय दाङको एउटा पहिचानको रूपमा स्थापित हुँदै गएको बदिया भाले व्यवसायलाई थप प्रचार प्रसारको लागि मन्त्रीलाई बदिया भाले उपहार दिइएको आयोजकले जानकारी दिए।
बदिया भालेको व्यवसायिक पर्वद्धनमा मद्दत पुगोस् भन्ने उद्धेश्यले मन्त्रीलाई बदिया भाले उपहार दिएको महोत्सव आयोजक सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति दाङका अध्यक्ष निमबहादुर बुढाथोकीले सेतोपाटीलाई बताए।
‘हामीले दाङको पहिचानको रूपमा स्थापित हुँदै गएको बदिया भाले दिनुको कारण आफ्नो व्यवसाय प्रर्वद्धन गर्नको लागि हो,’ अध्यक्ष बुढाथोकीले भने।
मन्त्रीलाई भाले उपहार दिँदा नौंलो उपहार पनि हुने र त्यसले मिडियामा चर्चा पनि पाउनसक्ने हुँदा भाले उपहार दिइएको उनले बताए। ‘भाले उपहार पाउँदा मन्त्री पनि दंग पर्नुभयो,’ अध्यक्ष बुढाथोकीले थपे, उहाँ खुसी हुँदै हामीलाई धन्यवाद दिनुभयो।’
मन्त्री खनालले आफ्नो लागि बदिया भाले नौंलो उपहार भए पनि त्यसलाई मायाको चिनोको रूपमा ग्रहण गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए।
मन्त्रीलाई उपहार दिनको लागि उक्त भालेलाई ३ हजार ५ सय मूल्यमा खरिद गरेर ल्याइएको अध्यक्ष बुढाथोकीले बताए।
मन्त्रीलाई भाले उपहार दिन थालेको दृष्य दर्शकका लागि अभिरुचिको विषय बनेको थियो।
कृषिलाई सम्मानित पेशाको रूपमा विकास गर्न आवश्यक
महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री खनालले कृषि व्यवसायलाई सम्मानित पेशाका रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन्।
देशको समृद्धिको मुख्य आधारको रुपमा रहेको कृषि व्यवसायको प्रवर्धनका लागि उपयुक्त नीति नहुँदा अहिले लाखौं युवाहरू विदेसिने अवस्था रहेको भन्दै मन्त्री खनालले त्यो अवस्था रोक्न आफू लागिपरेको दाबी गरे। ‘परम्परागत कृषि प्रणालीमा सुधार ल्याउन नीतिगत सुधारमा लागेको छौँ’, मन्त्री खनालले भने, ‘त्यसका लागि नीतिगत सुधारमा लागेको छौँ ।’
कृषि व्यवसायमा युवाहरुको आकर्षण ल्याउन कृषिलाई सम्मानित पेशाका रूपमा विकास गर्न आवश्यक रहेको उनको तर्क थियो। सरकारले चाहेको देशको समृद्धि कृषि व्यवसायवाटै सम्भव रहेको उनले बताए। ‘सरकारले चाहेको समृद्ध नेपाल बनाउने सपना कृषि व्यवसायवाटै सम्भवन रहेको छ’, उनले भने, ‘त्यसका लागि परम्परागत कृषि प्रणालीमा सुधार ल्याउन आवश्यक छ।’
परम्परागत कृषि प्रणालीमा सुधार ल्याउनकै लागि सरकारले नीतिगत सुधारदेखि किसानलाई उत्पादन र उसले उत्पादन गरेको खाद्यन्नको बजारीकरणमा सहयोग गर्ने कार्यक्रम ल्याउन लागेको उनले जानकारी दिए।
त्यस्तै हाल देशमा सवै बस्तु आयात हुने गरे पनि मासु र अण्डामा मात्र आत्मनिर्भर रहेको बताए। ‘हाम्रो देशलाई कृषि प्रधान देश भने पनि हामी हरेक बस्तु आयात गर्ने अवस्थामा छौं,’ मन्त्रीले भने, ‘यसले देशलाई घाटा पुर्याईरहेको छ।’
अब देशले आत्मनिर्भर रहेको अण्डा र मासु व्यवसायलाई प्रवर्धन गर्दै कृषिको सुधारमा लाग्नुपर्ने बताएका थिए। घोराहीमा माघ १० गतेदेखि सुरू भएको ५ नम्बर प्रदेशस्तरीय प्रथम पोल्ट्री महोत्सव माघ २० गतेसम्म चल्नेछ।