दाङको तुलसीपुरमा किसानलाई पशु सुत्केरी भत्ता विरतण सुरु गरिएको छ।
तुलसीपुर उपमहानगरपालिकाका १९ वडा मध्ये वडा नं. १८ ले भत्ता वितरण सुरु गरेको वडा अध्यक्ष माधव वलीले जानकारी दिए।
वडा कार्यालयले सोमवार हेमन्तपुरमा आयोजित कार्यक्रममा पहिलो पटक पशु सुत्केरी भत्ता वितरण गरेको हो।
पहिलो चरणमा बंगुरपालक किसान मधुमाया जिसीलाई ५ हजार रूपैयाँ नगद प्रदान गरिएको वडा अध्यक्ष वलीले बताए।
कार्यक्रममा वडाले किसानलाई पौष्टिक आहारा तथा दाना समेत वितरण गरेको जनाइएकोे छ।
पशु फर्म दर्ता गरेका र बिमा गरेका किशानले मात्रै सुत्केरी भत्ता पाउने व्यवस्था गरिएको हो। बाख्रा, भेडा र बंगुर कम्तिमा ५ वटा र गाई र भैंसी कम्तिमा ३ वटा पालेका किसानलाई पशु सुत्केरी भत्ता पाउने व्यवस्था गरिएको वडा अध्यक्ष वलीले बताए।
बाख्रा,भेडा र बंगुरले बच्चा जन्माउँदा एक पटकमा ५ सयका दरले र गाईको हकमा एक हजार र भैंसी सुत्केरी हुँदा १ हजार ५ सय सुत्केरी भत्ता प्रदानगर्ने नियम लागू गरिएको वडा अध्यक्ष वलीको भनाइ छ।
पशु सुत्केरी रकम संगै एक बोरा दाना पनि प्रदान गर्ने गरिएको उनले जानकारी दिए। भत्ता प्राप्त गर्दा पशुपालक किसान उत्साहित भएको किसान मधुमाया जिसीले बताइन। वडा अध्यक्ष वलीले वडामा सुत्केरी भत्ता लागू भएपछि अरु किसान पनि आफ्नो फर्म दर्ताको लागि वडा कार्यालयमा आउन थालेको जानकारी दिए ।
पशु पालनमा किसानको आकर्षण बढाउनका लागि पशु सत्केरी भत्ता वितरण सुरु गरेको वलीले बताए।वडामा फर्म दर्ता गरेका र पशु विमा गराएका किसान कति छन् भन्ने वारेमा वडा कार्यालयले अध्यन गरिरहेको उनको भनाइ छ।
विपत पीडितलाई राहत वितरण
यसैबीच तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ ले बिपतमा परेका व्यक्तिहरुलाई समेत राहात वितरण गरेको छ । गत बर्षाको समयमा बर्षा र बाढीले घर पूर्णक्षति भएका गेहेन्द्रबहादुर खत्री र राजकुमार नेपालीलाई जनही ३५÷३५ हजार प्रदान गरिएको वडा अध्यक्ष वलीको भनाइ छ।
त्यस्तै घरमा आंशिक क्षति भएका टोपबहादुर वलीलाई २० हजार राहत प्रदान गरिएको छ । केही दिन पहिले घरमा आगलागी भएका जपधन बुढा मगर, देबबहादुर खड्का र पहलबिर खड्कालाई जनही १५ हजार तथा घरमा सामान्य क्षति भएका भिमसरी रोकालाई १० हजार रुपैंया राहत प्रदान गरिएको वडाध्यक्ष वलीले जानकारी दिए ।
तुलसीपुरका मेयर घनश्याम पाण्डेले पशु सुत्केरी भत्ता र राहत रकम वितरण गरेका हुन ।