च्याउखेतीबाट जुम्लाका महिला आत्मनिर्भर बन्न थालेका छन्।
महिला समूह तथा व्यक्तिगतरूपमा समेत च्याउ उद्योग सञ्चालन गरेर यहाँका महिलाहरू आत्मनिर्भर बन्न थालेका हुन्।जिल्लामा रहेका सरकारी तथा गैरसरकारी संस्थाले सञ्चालन गरेको तालीममा सहभागी भएर महिलाले सामूहिक च्याउखेती गर्न थालेका छन् ।
आफ्नो आयस्रोत नहुँदा अरुसँग मागेर भए पनि दैनिक आवश्यकता पूरा गर्दै आएका महिलाले अहिले आफैँ कमाउन थालेका छन्।आफूले कमाउन थालेपछि घरायसी खर्च टार्नुका साथै छोराछोरीलाई पढाउन सहज भएको चन्दननाथ नगरपालिका–२ की लक्ष्मी बुढ्थापाले बताए।
उनले भने– “च्याउखेती शुरु गरेपछि कसैसँग पैसा माग्न परेको छैन । आफ्नै कमाइ भएपछि आवश्यकता अनुसारको खर्च गर्न पाएकी छु । पहिला श्रीमान्सँग माग्न सारै गाह्रो हुन्थ्यो।अहिले आफूलाई मन लागेको खर्च गर्न र अरुलाई दिन सजिलो भएको छ।”
आफ्नै कमाइ भएको हुनाले कसैको मुख ताक्नु र हात थाप्नु नपरेको उनको भनाइ छ ।वर्षमा ७० देखि ९० हजार रुपैयाँ सम्म च्याउखेतीबाट आम्दानी हुने गरेको नगरपालिका–९ की शोभा शाहीले बताए।
घरको अन्य सबै काम सकेर च्याउखेती गर्दै आएको उनले बताए। “छ वर्ष अगाडि श्रीमान्को कमाइले जीवन जिउनु पथ्र्यो। अहिले आफ्नै कमाइले आवश्यकता पूरा गर्न सहज भएको छ”, उनले भने।
पछिल्लो केही समययता महिला पनि सक्रियरूपमा काम गरेर आत्मनिर्भर बन्दै आएको तिला गाउँपालिका–२ की च्याउ उत्पादन कृषक लछी बोहोराले बताए। च्याउखेतीबाट राम्रो आम्दानी हुने भएपनि बजार व्यवस्थापनमा भने केही समस्या रहेको उनको भनाइ छ ।
लछी च्याउ उद्यमी बनेको चार वर्ष भयो । यसबाट सहकारीमा बचत गर्न, छोराछोरीको कापी कलम किन्न सजिलो भएको छ। सबै महिला समूहमार्फत काम गर्न थालेपछि छिटो हुने तर कमाइ राम्रो बनाउन बजार व्यवस्थापन राम्रो नभएको उनको गुनासो छ।