झापाको दक्षिणी क्षेत्रमा लगाइएको निजी वन हेर्न यतिबेला विभिन्न स्थानबाट किसान आउने गरेका छन्।
यहाँ ३० बिघा जग्गामा भेषराज लोहनीको परिवारले कम्पनी नै दर्ता गरेर वन क्षेत्रको विस्तार गर्दै आएको छ ।
गौरीगञ्ज नगरपालिका–५ स्थित खजुरगाछी बजारदेखि करीब तीन किलोमिटरको दूरीमा लोहनी परिवारले टिक, पाउलोनिया, मलेशियन साल, विजयसाल, क्रस महग्नीलगायत दर्जन बढी जातका बिरुवा हुर्काइरहेको छ।
चार वर्षअघि स्थानीयवासीको १०० बिघा जग्गा खरीद गरेका लोहनीले ग्रीन फरेस्ट खजुरगाछी प्रालि नै दर्ता गरेर वन लगाउन शुरु गरेको हो।
उनलाई यतिबेला सरोज लोहनीलगायत परिवारका सदस्यले साथ दिँदै आउनुभएको छ।सय बिघा जग्गा खरीद गरेर ३० बिघामा निजी वन लगाएको प्रालिले बाँकी ७० बिघा जमीनमा कृषि परियोजना सञ्चालन गर्ने तयारी गरिरहेको छ।
वनमा यतिबेला २२ हजार बिरुवा हुर्काइरहेको प्रालिका प्रबन्धक सञ्जय लोहनीले बताउनुभयो । रु एक करोड बढीको लगानीमा शुरु गरेको वनमा शुरुका दिनमा प्राविधिक ज्ञान नहुँदा निक्कै सकस व्यहोर्नुपरेको उहाँको अनुभव छ ।
“स्थानीयलाई स्वरोजगार बनाउने र वातावरण स्वच्छ बनाउनुका साथै आम्दानीको सजिलो र भरपर्दो स्रोत भएकाले निजी वन शुरु गरेका हौँ”, कम्पनीका अध्यक्षसमेत रहेका भेषराज लोहनीले भने।
झापाको अर्जुनधारा, शिवसताक्षी, दमक, मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकाभित्रका अधिकांश किसानले निजी वन लगाउन सुरु गरेको जिल्ला वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए।
झापामा हाल ५९ सामुदायिक वन, तीन कबुलियत वन र ४१८ निजी वन रहेको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कले देखाउँछ ।
प्रमुख घिमिरेका अनुसार झापामा १८ हजार ६५ हेक्टर क्षेत्रमा ५८ सामुदायिक वन, तीन कबुलियत र दुई वैज्ञानिक वन रहेका छन् भने ४२८ दशमलव ३४ हेक्टर जमीनमा निजी वन रहेको छ ।
घिमिरेले निजी वन लगाउने किसानलाई सरकारले निःशुल्क प्राविधिक सहयोग प्रदान गर्दै आउनुका साथै उनीहरूलाई प्रोत्साहन गर्नका लागि नर्सरी उत्पादनमा अनुदानसमेत दिँदै आएको बताए।
युवा दिनानुदिन विदेशिने र भएका जग्गा श्रमिकको अभावमा बाँझो हुँदै गएको बेला सरकारले निजी वनलाई प्रोत्साहन दिने उद्देश्यले किसानले उत्पादनका गरेका बिरुवाका नर्सरीसमेत डिभिजन वन कार्यालयले नै किन्दै आएको घिमिरेले बताए।