सरकारले उखुको मूल्य निर्धारण गरे पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन। उखु बारीमा नै सुक्ने डरले उद्योगीको मूल्यमा उखु बेच्न बाध्य भएको किसानहरू बताउँछन्।
जनकपुरका उखु किसान सुजित कुमार यादब सरकारले तोकेभन्दा कम मूल्यमा उखु बेचेको बताउँछन्।
‘कार्तिक र फागुन दूई वटा महिनामा उखु लगाइन्छ। फागुनमा रोप्नको लागि पनि अहिले उद्योगीको मूल्यमा उखु बेचेका छौँ, उनले सेतोपाटीसँग भने।
वैदेशीक रोजगारका कारण उखु खेतीमा कामदार पाउन सकिदैँन, समयमा चिनी मिलले उखुको पैसा नदिने भएकाले भएका कामदार पनि आउन छोडेको उनले बताए।
चिनी मिलले डेढ वर्षमा पैसा दिन्छ। त्यसले गर्दा आफूलाई घर व्यवहार चलाउन समेत गाह्रो भएको उनको गुनासो छ।
उनले अढाई विगा जग्गामा उखु खेती गर्दै आएका छन्। उखु खेती गर्दा आफ्नो लागत अनुरूपको मूल्य नपाउने गरेको उनको भनाई छ।
अहिले नेपालभर १३ वटा चिनी मील सञ्चालनमा छन्। ती मध्ये ४ वटा उद्योगले नयाँ मूल्य अनुरूप र बाँकी उद्योगले आ–आफै उखुको मूल्य निर्धारण गरेको चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवाल स्वीकार गर्छन्।
उनले पश्चिमका किसानले प्रति क्वीन्टल ३ सय ८५ र अन्य क्षेत्रका किसानले ५सय ३६ को दरले नै मूल्य पाइरहेको बताए।
‘जसले सरकारको निर्णय मान्यो त्यसले महङ्गोमा किन्यो जसले निर्णय मानेन उसले सस्तोमा किन्यो। यसले गर्दा चिनी महङ्गो भएर नबिकेपछि किसानलाई समयमै भुक्तानि दिन गाह्रो हुन्छ’अग्रवालले भने।
अहिले कतिपय किसानले पुरानो उखुको पनि भुक्तानि पाएका छैनन्।