चितवनमा तरकारी बिक्री नभएपछि किसानले खेतमै तरकारी नष्ट गरेका छन् ।
पूर्वीचितवनको खैरहनी–१ बहेराका किसानहरुले तरकारीको मूल्य नपाएको र बिक्री नभएको भन्दै तरकारी नष्ट गरेका हुन्।उनीहरुले खेतमा लगाएको तरकारी माथि नै ट्याक्टरले जोताएर तरकारी नष्ट गरेका हुन।
तरकारीमा पनि बिशेष गरि बन्दाको मूल्य नपाएको र बिक्री समेत नभएको किसानहरुले गुनासो गरेका छन् ।सोमबार मात्रै खैरहनी १ बहेरामा करिब ११ कठ्ठामा लगाइएको बन्दा किसानहरुले बारीमा नै नष्ट गरे।
एक महिनासम्म तरकारीले भाउ पाउला, बिक्री होला भनेर कुरेर बस्दाबस्दै तरकारी बिक्री नभएको ‘स्थानीय कृषक नवराज भूषालको भनाइ छ।
उनले भने, ‘तरकारी बारीमै कुहिने अवस्था आउनथालेकाले जोत्न बाध्य भयौँ। अघिल्लो बर्ष त्यही जग्गामा लगाएको तरकारीबाट करिब ९० हजार रुपैयाँ आम्दानी भएको थियो तर यस बर्ष एक रुपैयाँ पनि आम्दानी भएान।’तिन कठ्ठामा बन्दा उत्पादन गर्न करिब २१ हजार लागत लागेको उनको भनाई छ ।
सोही स्थानकी नरबदा सापकोटाको दुखेसो पनि उस्तै छ । ३२ कठ्ठामा तरकारी खेती गर्दै आएकी सापकोटाले केही दिनअघि मात्रै ब्रो काउली र बन्दा लगाएको करिब १५ कठ्ठा बारी तरकारी सहित जोताइन्। केही तरकारी त काटेर गाईभैसीलाई समेत खुवाएको तर पशुचौपायालाई समेत चिसो होला भनेर खुवाउन छोडेको उनको भनाइ छ।
अब बाँकी रहेको १७ कठ्ठाको तरकारी पनि केही दिनमै जोताउन पर्ने स्थिति रहेको उनले बताईन्।प्रतिकठ्ठा २ हजार ५ सयको दरले भाडा तिर्ने गरि लिएको २२ कठ्ठा जग्गामा लगाइएको तरकारी बिक्री नभएर बारीमै जोत्नु पर्ने अवस्था आएको भन्दै सापकोटाले दुखेसो गरिन्।
खैरहनी १ बहेराकै इन्दिरा भूषालले पनि सोमबार ६ कठ्ठामा लगाएको बन्दा जोताइन् । उनले भनिन्, ‘अघिल्लो वर्ष यही जग्गाको तरकारीबाट डेढ लाख रुपैयाँ आम्दानी भएको थियो। यसबर्ष एक रुपैयाँको समेत बन्दा बिक्री नगरी जोताउन पर्यो।’
उनको जस्तै समस्या अहिले बन्दा लगाउने धेरै किसानको रहेको छ । सोही स्थानकी देपकला खनाल ७ कठ्ठा जग्गाको बन्दा नष्ट गर्ने तयारीमा छिन् ।
‘अघिल्लो बर्ष ४ कठ्ठामा लगाएको तरकारीबाट १ लाख आम्दानी भएको थियो राम्रो होला भनेर यसबर्ष ६ कठ्ठामा लगाउँदा एक रुपैयाँ पनि आम्दानी नगरि तरकारी जोत्नुपर्ने अवस्था आयो।’ उनले भनिन्।
सोही स्थानका सूर्य प्रसाद भूषालले समेत दुई कठ्ठामा लगाएको बन्दा जोताए। भाउ पाउला कि भनेर कुर्दा कुर्दा तरकारी बिक्री भएन, अर्को वाली लगाउने समय समेत आएकोले बाध्य भएर तरकारीसहित बारी जोताउनुपरेको उनको भनाइ छ।
किसानहरुले मूल्य नपाउँदा खेतबारी मै तरकारी नष्ट गर्नुपर्ने अवस्था आउँदा समेत बजारमा भने उपभोक्ताले प्रतिकिलो १५ रुपैयाँमा बन्दा खरिद गरिरहेका छन्।
अहिले चितवनमा बन्दा, काउलीको उत्पादन बढी भएकाले मूल्य नपाएको फलफूल तथा तरकारी थोक व्यवसायी संघ नारायणगढका अध्यक्ष थिरप्रसाद धितालले बताए।
अहिले थोक बजारमा बन्दा चार –पाँच रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको उनले बताए। सबैले एउटै तरकारी लगाउनु भन्दा किसानहरुले फरक फरक तरकारी लगाए यस्तो समस्या नआउने र सबै तरकारीले मूल्य पाउने उनले दावी गरे। चितवनमा करिब ४६ हजार हेक्टरमा खेतीयोग्य जग्गा रहेको छ, जसमध्ये करिब ६ हजार हेक्टरमा तरकारी खेतीहुँदै आएको छ ।