कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा युवाको खाँचो परेको बताएका छन्। राष्ट्रिय वागवानी सेमिनारको उद्घाटनमा मन्त्री खनालले युवा वर्गले नै कृषि क्षेत्रको प्रवद्र्धन गर्न सक्ने बताएका हुन्।
‘युवा वर्ग विदेशीएकाले बुढापाकाबाट परम्परागत कृषि भइरहेको छ अब यसलाइ आधुनिक कृषि गर्न युवा वर्गको खाँचो छ,’ मन्त्री खनालले भने,‘अन्य देशमा २१ देखी ३५ वर्षका युवा समुहले मात्रै कृषि गर्दै आएका छन्। हाम्रो देशमा भने त्यसको ठिक विपरीत भइरहेको छ।’
युवाशक्ति विदेश पलाएन हुनुले पनि देशको अर्थतन्त्रमा ठूलो असर पारेको मन्त्री खनालले बताए।
२५० वर्ष सम्म पनि जस्ताको तस्तै अवस्थामा रहेको नेपालको अर्थतन्त्र उकास्नमा कृषि क्षेत्रको ठूलो भूमिका रहेको मन्त्री खनाललको भनाइ छ।
कृषि क्षेत्रलाई विस्तार गर्न केन्द्र, प्रदेश र स्थानीय तीनै वटा निकायको उक्तिकै भूमिका हुने भएकाले मन्त्रालयले कृषि क्षेत्रलाई सहज बनाउन ऐन नियम सम्शोधन गरिरहेको मन्त्री खनालले बताए।
सेमिनारमा कृषि क्षेत्रको विषयमा वागवानी विज्ञ मनोहर थापाले तरकारीको हालको अवस्था र यसलाई अब कसरी लैजाने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरे।
त्यसैगरी इन्द्रराज पाण्डेले वागवानी विज्ञको अहिलेको अवस्था बारे कार्यपत्र प्रस्तुत गरे।
राष्ट्रिय फलफूल विकास केन्द्र, राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्र र नेपाल हर्टिकल्चर सोसाइटीको संयुक्त आयोजनामा भएको सेमिनार ३ दिनसम्म चल्ने छ।
नेपालमा चिया कफीको सम्भावना, माग र चुनौति, तरकारीको अवस्था, फलफुल प्रर्दशनी, पुष्प लगायत अन्य थुप्रै कृषि उपजहरुको वारेमा सो क्षेत्रका विज्ञहरू विच २६ वटा विषयमा छलफल हुने आयोजकले जानकारी दिएको छ।
नेपाल हर्टिकल्चर सोसाइटी भनेको वागवानी विज्ञहरूको संस्था हो।