लमही नगरपालिकाका देसुराम चौधरी राप्ती नदीको बगरमा बगरखेती गर्दै आउनुभएको छ । उहाँ बगरखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले बगरलाई हरियाली बनाउन चौधरीलगायत अन्य कृषकलाई सहयोग गरेको हो ।
दश वर्षदेखि बगरखेती गर्दै आउनुभएका चौधरीको अहिले जीवन नै परिवर्तन भएको छ । उनले तरकारी खेतीबाट वार्षिक रु आठ लाख आम्दानी गर्दै आएको छन्।
“यो ठाउँमा बस्न थालेको दशकौँ भइसक्यो, बगरमा तरकारी खेती गर्ने कुरा थाहै थिएन”, चौधरीले भने, “अहिले बगर नै हरियाली भएको छ ।”
सहकारीले खेती गर्ने तरिका सिकाएपछि कृषक निर्वाहमुखी खेती प्रणालीबाट व्यवसायी बनेका छन् । सहकारीकै सहयोगमा यहाँका अन्य कृषकसमेत बगरखेतीतर्फ आकर्षित भएका छन् । देउखुरीका राप्तीगाउँपालिका र गढवा गाउँपालिका तथा लमहीनगरपालिका क्षेत्रको राप्ती बगरमा खेती गर्न किसानले कृषक समूह बनाएको सहकारी संस्थाका अध्यक्ष दिलीपराज खनालले बताए। अहिले बगरखेती र दुग्ध परियोजनाबाट ७०० भन्दा बढी किसान लाभान्वित भएका छन् ।
कृषिजन्य वस्तुको सहजरुपमा बिक्री गर्न देउखुरीमा तरकारी बजार स्थापनाको पहल भइरहेको अध्यक्ष खनाल बताउछन्। “बिक्री गर्न सहज होस् भनेर कृषि बजार स्थापना गर्न लागेका हौँ”, उनले भने। सहकारीले कृषिजन्य बीउबिजनको बिक्री केन्द्र स्थापना तथा समूहमा आबद्ध किसानलाई यान्त्रीकरणमा जोड दिई चक्लाबन्दी खेती गर्नका लागि कृषकलाई सहयोग गर्ने कार्यक्रम ल्याएको छ ।