समृद्ध कर्णाली अभियानको आयोजनामा राजधानीको भृकुटीमण्डपमा आयोजित कर्णाली एक्स्पोमा मार्सी चामलमा आकर्षण देखिएको छ।
तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले २०७४ फागुन ६ गते एउटै टेबलमा खाना खाइरहेको तस्बिर सार्वजनिक भएको थियो। सो दिवाभोज झापाका मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेका थिए।
त्यो बेलादेखि चर्चित बनेको मार्सी चामल एक्स्पोमा पनि धेरैको चासोको विषय बन्यो।
मेलामा मार्सीको चामल मात्र नभई मार्सीको खिर लगायतको परिकार पनि प्रदर्शन र बिक्री वितरण गरिएको छ।
एक्स्पोमा रातो कालो र सेतो मार्सी चामल राखिएको होलिस्टिक नेपाल प्रालिकी जिना कार्कीले जानकारी दिइन्। मार्सी चामलको गुणस्तर अनुसार २ सय ४० देखि ३ सय रुपैयाँसम्म मूल्य निर्धारण गरिएको छ।
प्रदर्शन हेर्न आउने धेरैले मार्सी चामलको बारेमा जिज्ञासा राख्ने गरेको र बिक्री पनि राम्रो भएको दलित महिला कृषि बहुउद्देश्य सहकारी संस्था सदस्य सर्जाकला नेपालीले बताइन्।
‘नेताहरुले खाएको चामल भनेर हेर्न आउँछन्, हाम्रो स्टलबाट पनि सबैभन्दा धेरै मार्सी चामल नै बिकेको छ,’ उनले सेतोपाटीसँग भनिन्।
कर्णाली एक्स्पोमा गुणस्तरीय मार्सी चामल पाइन्छ भन्ने सुनेर एक्पो हेर्न आएको चावहिलकी बिमला घिमिरेले बताइन्।कर्णाली एक्स्पोमा खाद्यान्न प्रदर्शनीको लागि राखिएका सबैजसो स्टलमा मार्सी चामललाई प्राथमिकताको साथ राखिएको छ।