श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले बनाउन लागेको सिप विकास प्रतिष्ठान रुपन्देहीको सैनामैनामा बन्ने भएको छ । प्रतिष्ठानको निर्माणस्थलको श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले मंगलवार अवलोकन गरेका छन् ।
नेपाल सरकारले देशभरका विभिन्न तिन स्थानमा निर्माण गर्ने प्रतिष्ठान मध्ये एउटा सैनामैना नगरपालिका वडा नं. ७ लम्टैयामा बन्ने भएको हाे।
सिप विकास प्रतिष्ठान निर्माणको लागि सैनामैना नगरपालिकाले ६० विघा क्षेत्र उपलब्ध गराएको छ । यहां निर्माण हुने सिप विकास प्रतिष्ठानबाट नेपालको नारायणी नदी पश्चिमदेखि धनगढी सम्मका हज्जारौ युवाहरुलाई सिप प्रदान गरिने छ ।
एउटा पालिकामा एउटा सिप प्रशिक्षण केन्द्र निर्माण गर्ने नेपाल सरकारले दिर्घकालिन योजना लिएको उल्लेख गर्दै मन्त्री विष्टले प्रशिक्षण प्रतिष्ठानले सिपयुक्त जनशक्ति तयार गर्ने बताए । ‘तत्कालिन अवस्थामा स्वदेशमा नै सिपसिकेर केहीगर्न चाहने युवाहरुलाई दक्ष बनाउने गरी व्यवहारिक तालिम प्रदान गरिने छ, उनले भने ।
मन्त्री विष्टले अहिले विदेश जाने अधिकांश युवासंग सिप नभएको कारण उचित पारिश्रमिक नपाएको भन्दै विदेश जानुपरे पनि सिपयुक्त जनशक्तिलाई मात्र विदेश पठाउने परिपाटीको विकास गर्न सके विदेशमा जोखिम युक्त श्रम गरेर पनि पारिश्रमिकमा ठगिन नपर्ने बताए ।
नगरपालिकामा सिप विकास प्रतिष्ठान निर्माण भएपछि सैनामैनाको बृहत्तर विकासमा टेवा पुग्ने नगरपालिकाको विश्वास छ । नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले अहिले सैनामैना नगरपालिकाले जग्गाको लालपुर्जा नेपाल सरकारलाई दिने गरी काम अगाडि बढाईसकेको जानकारी दिए ।
आवाशिय सुविधा सहितको तालिम प्रतिष्ठान निर्माणको लागि पहिलो चरणमा ६० विघा जग्गा उपलब्ध गराएकोमा जग्गा अपुग भए थप जग्गा समेत उपलब्ध गराउन नगरपालिका तयार रहेको उनले बताए ।
जग्गा प्राप्तीको चरण सकिएपछि परियोजनाको विस्तृत योजना सर्भेक्षण प्रतिवेदन (डिपीआर) बनाउन सुरु गरिने बताईएको छ ।