रामपुर नगरपालिका–६ का महिलालाई यतिबेला खेतबाटै आलु बिक्री गर्न भ्याइनभ्याइ छ । समूहमा लगाएको आलुको उत्पादन राम्रो भएपछि आलु खन्ने र खेतबाटै बिक्री गर्ने काममा दिनभर यहाँका महिला व्यस्त छन् ।
नदी किनार आयआर्जन महिला कृषक समूहले यसवर्ष सात रोपनी क्षेत्रफलमा तीन क्वीन्टल आलु लगाएको छ । अहिले आलु खन्ने र बिक्री गर्ने कार्यमा महिला व्यस्त रहेको समूहका अध्यक्ष भगवती देवकोटाले बताइन्।
“बिहान घरको काम सकेर छोराछोरीलाई विद्यालय पठाएपछि दिनभर खेतमै दिदीबहिनीसँग आलु खन्ने र बिक्री गर्ने काममा व्यस्त रहन्छौ”, उनले भनिन्। अहिले खेतबाटै तीन क्वीन्टल आलु बिक्री भइसकेको छ । करीब तीस क्वीन्टल आलु उत्पादन हुने समूहका सचिव सीता देवकोटाले बताइन्।
समूहले खेतबाटै प्रतिकिलो रु २० मा आलु बिक्री गर्दै आएको छ । रातो, कार्डिनल र जनकदेव जातको आलु खरीद गर्ने ग्राहकको दिनभर खेतमा चहलपहल छ । महिला समूहले लगाएको आलुको उत्पादन अवलोकन गर्नेको पनि निकै हुन्छन् । समूहमा २० जना महिला मिलेर सामूहिक आलुखेती गरेका छन् । समूहले अब लहरेबाली तरकारी लगाउने तयारी गरेको छ ।
आलु खेतीका लागि रामपुर नगरपालिका–६ ले बीउ खरीदमा रु २५ हजार रकम सहयोग गरेको वडा अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए। वडालाई कृषिमा अगाडि बढाउने प्रयत्नका साथ महिला समूहलाई व्यवसायमा हौसला बढाउन विभिन्न कृषिका कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ थियो ।