दुई बाली धानखेती गर्न सकिने भन्दै हौसिएका बर्दिया राजापुरका किसान चैते धानको बीउ मर्न थालेपछि चिन्नित बनेका छन् ।
भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई धान उत्पादनको दृष्टिले उपयुक्त मानेर राजापुर क्षेत्रलाई प्रधानमन्त्री कृषि सुपरजोनसमेत घोषणा गरिएको हो ।
राजापुरमा चैते धानको बीउमा ढुसीजन्य रोग लागेको स्थानीयवासी शान्ति थारूले बताए। राजापुरमा दुई बाली धानखेती गर्न सकिने प्रशस्त सम्भावना देखिएपछि किसानलाई कृषि सेवा केन्द्रबाट धानको बीउ अनुदानमा वितरण गरिएको थियो ।
“धानको बीउ राम्ररी त उम्रियो तर बेर्ना मर्न थालेको छ”, थारूले भने। प्राविधिकले भनेझैँ मेहनत गरी १० कट्ठामा बीउ रोप्न राखे पनि बीउ मरेर सकिन थालेको उनको भनाइ छ ।
धानको बेर्नामा रोग लागेको गुनासो लिएर आएका किसानको खेतमा प्राविधिक टोली पठाइने र आफू स्वयं पनि जाने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन कार्यक्रम राजापुरका वरिष्ठ कृषि अधिकृत वीरेन्द्र पराजुलीले बताए।