दूध उत्पादन गर्ने व्यवसायको प्रवद्र्धनका लागि रिब्दीकोट गाउँपालिकाले प्रोत्साहनस्वरुप अनुदान वितरण गर्न थालेको छ । दूध उत्पादनलाई व्यावसायिक बनाउन गाउँपालिकाले प्रतिलिटर दूधमा एक रुपैयाँँ अनुदान दिने कार्यक्रम ल्याएको छ।
गाउँपालिकाले दूध सङ्कलन गर्ने सहकारी संस्थामार्फत किसानलाई अनुदान वितरण गर्न थालेको हो । रिब्दीकोट गाउँपालिका क्षेत्रभित्र बसोवास गरी दूध उत्पादन कार्यमा संलग्न हुने किसानलेमात्र यस्तो अनुदान पाउनेछन्। सहकारीले दूधको कारोबार गर्ने किसानको अनुदान माग गरेपछि प्रत्येक चौमासिकमा गाउँपालिकाले अनुदान दिन थालेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जीसीले बताए।
दैनिक एक हजार २०५ लिटर दूधको कारोबार सहकारीमार्फत हुँदै आएको छ । गाउँपालिकाले सहकारीलाई दैनिक एक हजार २०५ रुपैयाँँ अनुदान दिने गरी सहकारीसँग सम्झौता गरेको छ । किसानलाई अनुदान दिन थालेपछि दूध उत्पादन र दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि हुने गाउँपालिकाको विश्वास रहेको छ।
गाउँपालिका क्षेत्रभित्रका २१८ किसान दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध छन् ।
कृषि तथा पशुपालन व्यवसायमा अझै पनि शिक्षित वर्ग आकर्षित हुनसकेकोले सहकारीमार्फत दूध उत्पादन गर्ने किसानलाई अनुदानको व्यवस्था ल्याएको गाउँपालिकाका प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिए। दूधमा अनुदानसँगै पशुपालन व्यवसायमा युवा पुस्ताको आकर्षण बढ्ने उनको विश्वास छ।
राधाकृष्ण दुग्ध उत्पादक सहकारी संस्था मसुरे, डुम्रे दुग्ध उत्पादक सहकारी संस्था डुम्रे, देवीस्थान दुग्ध उत्पादक सहकारी संस्था देउराली, ख्याहा दुग्ध उत्पादक सहकारी संस्था ख्याहा, किसान दुग्ध उत्पादक सहकारी संस्था खस्यौलीले दुग्ध उत्पादन गर्ने किसानको दूधको बजारीकरणका आधारमा अनुदान वितरण गर्छन् ।
अनुदान कार्यक्रम सञ्चालन गर्ने सहकारीमा आवद्ध किसानले सबै पशुको बीमा गरेको हुनुपर्ने, किसानको फार्ममा जैविक सुरक्षा विधि अबलम्वन गरेको हुनुपर्ने छ ।
सहकारीको कारोबार गर्ने गरेको दूधको गुणस्तर न्यूनतम मापदण्डभित्र परेका सहकारीले अनुदान वितरण कार्यक्रम सञ्चालन गर्न पाउने व्यवस्थामा रही अनुदान कार्यक्रममा सहभागी बनेकोे गाउँपालिकाको पशुपंक्षी समन्वय एकाइको दाबी छ ।
गाउँपालिकाभित्रका खस्यौली, देउराली, ठिमुरे, ख्याहालगायतका क्षेत्रमा व्यवसायिक दुग्ध उत्पादन हुदैँआएको छ । उन्नत जातका गाई भैँसी पालन गरी दूध उत्पादनले यस क्षेत्रका किसानको जीवनशैलीमा समेत सुधार ल्याएको छ ।
गाउँपालिकाको प्रतिबद्धता अनुरुप दूध उत्पादनमा आत्मनिर्भरको लक्ष्य पूरा गर्न सहयोग गर्नेगरी दूध उत्पादन र बजारीकरणका आधारमा अनुदान कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने गाउँपालिका अध्यक्ष जिसीले बताए।
रिब्दीकोट गाउँपालिकाको गत पुस २४ र २६ गते सञ्चालित गाउँसभाले दूध उत्पादन र बजारीकरणका आधारमा अनुदान कार्यक्रम कार्यविधि २०७५ पास गरेपछि किसानलाई अनुदान पाउने बाटो खुलेको हो ।