कृषि मन्त्रालयका कर्मचारीले नियम विपरित भत्ता लिएको खुलेको छ।
महालेखाको ५६ औं वार्षिक प्रतिवेदनले कृषिका कर्मचारीले नियम विपरित भत्ता लिने गरेको देखाएको हो।
किसानका लागि उन्नत बीउबिजन कार्यक्रम अन्तर्गत जुन १५ देखि २२, २०१८ सम्म २३ कर्मचारी भारतको उत्तर प्रदेशमा पर्ने आग्रा, हरियाणाको कर्नाल भ्रमण गरेकोमा तलबको ५० प्रतिशत भत्ता लिनुपर्नेमा पुरै लिएको प्रतिवेदनले देखाएको छ।
भ्रमण खर्च नियमावली, २०६४ अनुसार दैनिक भत्ताको ५० प्रतिशत भुक्तानी गर्नुपर्नेमा पूरै भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले आफ्ले बढी भत्ता लिएको भुक्तानी गर्न आग्रह गरेको छ।
नयाँ दिल्ली स्थित विभिन्न स्थानको अवलोकन भ्रमण गरेको मध्ये दुई दिन उत्तर प्रदेशको मथुरा, तीन दिन हरियानाको कर्नाल र काठमाडौं फर्केको दिनको पुरै दैनिक भत्ता भुक्तानी भएको प्रतिवेलदनले देखाएको छ।
‘उल्लिखित प्रावधान अनुसार बढी भुक्तानी भएको ९ लाख ४४ हजार रुपैयाँ तथा भियतनाम, लाओस र कम्बोडियामा भ्रमण गरेका ३८ कर्मचारीलाई काठमाडौैं फर्केको दिनको पूरै दैनिक भत्ता भुक्तानी भएकोले बढी भुक्तानी भएको १ लाख ४७ हजार रुपैयाँ समेत १० लाख ९१ हजार रुपैयाँ असुल गर्नुपर्दछ’, प्रतिवेदनमा भनिएको छ।
यो वर्ष कृषि मन्त्रालय र अन्तर्गतका ८२३ जना नेपाल सरकारको स्रोतबाट विभिन्न मुलुकमा वैदेशिक भ्रमण गरेका छन्। सो भ्रमणबाट १४ करोड ७६ लाख ४१ हजार रुपैयाँ खर्च गरेको प्रतिवेदनमा देखिएको छ।