महालेखा परीक्षकको कार्यालयले कृषि तथा खाद्य सुरक्षा आयोजना अन्तर्गत जिल्ला पशुसेवा कार्यालय, दार्चुलाले बोका खरिदमा अनियमितता गरेको जनाएको छ।
महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा कार्यालयले यो वर्ष १ सय बोयर बोका खरिद तथा वितरण गरेको भनी ३० लाख खर्च लेखेको छ तर कार्यालयले तयार गरेको अभिलेख पुस्तिकामा ५७ बोकामात्र वितरण गरेको उल्लेख भएको जनाएको छ।
कम वितरण देखिएको ४३ बोयर बोकाको मूल्य १२ लाख ९० हजारको सम्बन्धमा छानबिन गरी वास्तविकता यकिन गर्ने प्रतिवेदनमा उल्लेख छ।
सोही कार्यक्रमअन्तर्गत जिल्ला पशुसेवा कार्यालय, डोल्पाले यो वर्ष बाख्रा खरिदमा ९ लाख खर्च लेखेकोमा एक महिला समुहलाई बाख्रा खरिद गर्न दिएको बाख्राको फोटो नै संलग्न गरी तामाखानी कुखुरापालन समुहलाई बाख्रा खरिदमा ३ लाख अनुदान दिएकोले एउटै कार्यमा दोहोरो अनुदान दिएको देखिएकोले आवश्यक छानबिन गरी वास्तविकता यकिन गर्नुपर्ने प्रतिवेदनले जनाएको छ।