पशुलाई खोप लगाउन माग गर्दै किसानले आन्दोलन गरेपछि विहीबारदेखि खोप लगाउन सुरू भएको छ। गर्मी सुरु हुनुभन्दा पहिले फागुन महिना भित्रै लगाई सक्नुपर्ने खोप नलागाउँदा आफ्ना पशु चौपाया मरेको तथा विमा कम्पनीले पनि विमा गराउन नमानेको भन्दै तुलसीपुर क्षेत्रका किसान चैत २६ गतेदेखि आन्दोलनमा उत्रिएका थिए।
उनीहरुले विभिन्न चार बुँदे माग राख्दै पशु शाखा कार्यालयको गेटमा ताला लगाएका थिए। किसानले अगाडि सारेको अर्कौ प्रमुख माग भनेको कृतिम गर्वाधारणको लागि सहज व्यवस्था मिलाईदिनुपर्ने भन्ने पनि थियो।
किसानले भ्याक्सिनको अभावले पालेका पशु मर्दा ठूलो क्षति बेहोर्नुपरेको भन्दै आन्दोलन सुरु गरे पनि स्थानीय सरकार भने सुरूमा दमनमा उत्रिएको थियो। तर, किसानले दमनका विरुद्ध झनै आन्दोलन चर्काउन थालेपछि विहीबारदेखि उपमहानगरपालिकाले किसानको घरमै गएर भ्याक्सिन लगाउन सुरु गरेको हो।
यसअघि पशु शाखाले उपमहानगरले खोपका लागि आवश्यक बजेट नछुट्याएको हुँदा समयमै भ्याक्सिन खरिद गर्न नसकेको बताएको थियो भने उपमहानगरपालिकाका पदाधिकारीहरुले पनि प्रदेशले समयमै बजेट निकासा नगरेको हुँदा भ्याक्सिन खरिद गर्न समस्या भएको बताउने गरेका थिए।
किसान देवराज भण्डारीले स्थानीय तह भन्दा बरू पहिले नै किसानलाई सुविधा रहेको गुनासो गर्दै स्थानीय सरकारले किसानलाई बेवास्ता गरेको आरोप लगाएका थिए।
भ्याक्सिन पछि किसान खुसी
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ गोलौरा निवासी लोकराज डाँगीको फर्ममा १७ वटा गाई र ५ वटा भैसीलाई बिहीबार घरमै गएर खोप लगाइयो।
यसअघि डाँगी लामो समयसम्म पनि खोरेत विरुद्धको खोपको व्यवस्था नभएका कारण गाईवस्तुलाई खोरेत रोग लाग्ने त होइन भन्ने त्रास थियो।
उपमहानगरपालिकाले फर्म मै आएर खोप लगाएपछि डाँगीको चिन्ता दुर भएको छ। ‘अव एक वर्षलाई ढुक्क भइयो,’ डाँगीले सेतोपाटीसँग खुसी साटे।
अर्का स्थानीय किसान ठगेन्द्र डाँगीको फर्ममा गएर पनि खोप लगाइएको छ। लामो समयदेखि उनले पनि चौपायलाई खोप नलगाएको हुँदना खोरेत रोग लाग्ने हो कि भन्ने त्रासमा थिए। पशुस्वास्थ्यकर्मी घरमै पुगेर निःशुल्क खोरेत विरुद्धको खोप लगाएपछि किसानले खुसी भएका छन्।
तर, पशु शाखााका पदाधिकारीहरु भने पहिलो चरणमा व्यवसायिक रुपमा पशुपालन गर्नेहरुको फर्ममा पुगेर खोप लगाउने र दोस्रो चरणमा किसानहरुकै घरमा पुगेर सुविधा दिने उद्धेश्यले खोप सुरू गरिएको बताउँछन्।
तुलसीपुरका पशु शाखा प्रमुख सुदाम भट्टले वैशाख २ गतेबाट वडा कार्यालयको समन्वयमा किसानहरुका पशुलाई खोप दिन सुरु गर्ने प्रतिवद्धता जाहेर गरे। तर, त्यसका लागि किसानले वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने भट्टले बताए।
हरेक वर्ष सरकारले पठाउने खोप यो वर्ष भने समय सकिन लाग्दा पनि नपठाएपछि किसान आन्दोलित भएका थिए। त्यसपछि मात्र उपमहानगरपालिकाले खोप लगाउन पशु शाखा कार्यालयलाई ताकेता गरेको हो।
‘केन्द्रीय सरकारले जिम्मेवारी समयमै पुरा नगरे पनि हामी आफ्नो जिम्मेवारीवाट पन्छिएनौं,’ नगरप्रमुख घनश्याम पाण्डेले भने।
प्रमुख पाण्डेले उपमहानगरपालिकाले आफैं खोप खरिद गरेर किसानलाई सेवा दिएको पनि बताए। उनले सरकारले ढिला गरेपछि उपमहानगरपालिका आफैंले खोप खरिद गरेर खोप लगाएको जानकारी दिए।
र्फममा रहेका पशुहरू समूहमा हिँडेर कार्यालयसम्म जान नसक्ने भएकाले फर्म मै आएर खोप दिइएको स्वास्थ्य शाखा उपप्रमुख सुवास आचार्यले जानकारी दिए। ‘पहिलो चरणमा २५ सय पशुहरुलाई खोप दिइनेछ,’ उनले भने।
किसानको आवश्यकता अनुसार थप खोपको व्यवस्था गरिने उनले जानकारी दिए।