विगत एक वर्षदेखि नेपाली जडिबुटी गोदाममै थन्किएर बसेको छ।
भारतको नयाँ नीतिका कारण नेपालगञ्जबाट निकासी हुँदै आएको अमूल्य जडिबुटी गोदाममै थन्किएको हो। भारतले क्वारेन्टाइन सम्बन्धी नयाँ नीति लागू गरी जारी गरेको जडीबुटीको सूचीमा २६ वटा जडिबुटीको नाम मात्रै उल्लेख गरेपछि नेपालगन्जमा ठूलो परिमाणको जडीबुटी थन्किएर बसेको छ।
नेपालगन्ज नाकाबाट यस अघि १ सय दुई किसिमका जडीबुटी भारत निकासी हुँदै आएको जडिबुटी व्यवसायी सङ्घले जनाएको छ। निकासी बन्द हुँदा करिब १० अर्बभन्दा बढीको जडिबुटी गोदाममा थन्किएको जडिबुटी व्यवसायी संघका अध्यक्ष धनबहादुर लामाले बताए। उनका अनुसार अहिले भारतीय क्वारेन्टाइनले ५४ प्रकारका विभिन्न जडिबुटीको निकासीमा प्रतिबन्ध लगाएको छ।
विगत एक वर्षदेखि जडिबुटी निकासीमा समस्या आए पनि यसलाई राज्यले कुनै वास्ता नगरेको उनले गुनासो पोखे।
‘विगत एक वर्षदेखि जडिबुटी निकासीमा समस्या आएको छ। तर पनि यसलाई राज्यले वास्ता गरेको छैन’, उनले भने, यसले जडिबुटी व्यसायीलाई मात्र असर गरेको छैन, राज्यले पनि अर्बौको राजश्व गुमाएको छ।’
उनका अनुसार भारतीय क्वारेन्टाइन जडिबुटीको सूचीमा पहिले निकासी हुने गरेका प्राय जडिबुटी अहिले छैनन्। भारतीय क्वारेन्टाइनले बोजो, अलैँची, चुठोको जरा, ब्राह्मी, कपुर, दालचिनी, बेसार, ओखर, धूप, काउलो, पुदिना, तुलसी, कुटकी, पिपल, मजिठो, रिठा, गोखरु, मेथी, सिस्नुको पात, झयाउ, सुगन्धवाल, टिमुर र सुठोलाई मात्र निकासीको अनुमति दिइएको छ। अन्य सबै जडिबुटीको निकासीमा रोक लगाएको छ।
सबैभन्दा बढी भारतमा निकासी हुने तथा माग भएका जडिबुटीहरू पखानवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाई, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामासी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइल लगायतका विभिन्न तयारी तेललाई समेत निकासीमा प्रतिबन्ध लगाइएको छ।
जडिबुटी निकासीको समस्या समाधानका बारे अर्थ मन्त्रालयसँग छलफल भएको मोरङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीमप्रसाद घिमिरेले बताए। ‘जडिबुटी निकासीको समस्या समाधानमा हामीले अर्थमन्त्रालयसँग पटक पटक छलफल गरिरहेका छौं, अब छिटै समस्या समाधान हुन्छ’, उनले भने।
नेपालमा उत्पादित जडिबुटीमध्ये ७५ प्रतिशत भारत, १५ प्रतिशत चाइना र १० प्रतिशत अन्य देशमा जाने गरेको वनस्पति विभागका निर्देशक सञ्जिभ कुमार राईले बताए।
‘जडिबुटिको समस्याबारे वनस्पति विभागमा पनि निवेदन आएको छ,’ विभागका निर्देशक राईले भने, हामी सहायक निकाय मात्र हांै, समस्या समाधान गर्ने निकाए होइनौं, यसलाई माथिल्लो निकायले छिटोभन्दा छिटो समाधान गर्नु पर्छ।’
नेपालबाट निकासी हुने सबै प्रकारका जडीबुटी भारतको ‘बिरुवा क्वारेन्टाइनसम्बन्धी आदेश २००३’ को अनुसूची ७ मा सूचीकृत छैनन्। जडीबुटीको नाम मिले पनि वैज्ञानिक नाम फरक भएकाले निकासीमा समस्या आएको जडिबुटी व्यवसायीको भनाइ छ।