छानोमा तीन वटा ‘रुफ भेन्टिलेटर’, पूर्व तर्फको भित्तामा आठ ओटा ठूला साईजका ‘ईस्जाउटर फ्यान’, पश्चिम तर्फको भित्तामा ३० मिटरको कुलिङ प्याड जडान गरिएको छ।
चर्काे घाम लाग्दा अटोमेटिक पर्दा लाग्ने (सेड नेट) छानोको व्यवस्था छ। सिधा अर्थमा भन्दा मानिसको लागि आवश्यक पर्ने एसी, फ्यान, कुलर आदीको व्यवस्थाजस्तै। निर्मित संरचना झ्वाट्ट हेर्दा लाग्थ्यो, यो कुनै सुख सयलमा बस्ने रमाउने मानिसका लागि निर्मित वातानुकुलित संरचना हो।
तर, भेन्लोटनेल पोलिकार्बाेनेट सिटद्वारा निर्मित यो टनेलको संरचना बास्तवमा तरकारी खेतीको लागि निर्मित अमृत कृषि फर्म हो। परम्परागत रुपमा खेतिपाती गर्दै आएका स्थानीय किसान सुरुमा तरकारी खेती गर्नको लागि लाखौं खर्चेर तामझाम गरेको देख्दा आश्चर्यमा नपर्ने कुरै थिएन। ग्रिन हाउस खेतीबारे थाहा नपाएकाहरु त्यो देखेर अनौठो मानीरहेका थिए।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ रावत गाउँ निवासी ४१ वर्षीय अमृत धितालले गत पुस महिनामा फर्मको निर्माण सुरु गर्दा कसैको वास्ता भएन।
रातदिन मिहेनत गरेर सोचे भन्दा छिट्टै १ हजार ५० स्वायर मिटरको टनेल निर्माण गरे।त्यसभित्र १ हजार ७ सय ७८ वटा ‘बकेट’ भरे। त्यसैमा उनले तरकारी खेती गरे । त्यसपछि स्थानीय किसान छक्क परे।
उनको ग्रिन हाउस भित्र आज विषादीरहित काँक्रा, भेडे खुर्सानी, टमाटर, भन्टा लगायतका तरकारी मज्जाले हुर्कीरहेका छन्। डोरी (नेट)मा तर्ल्याङ तुर्लुङ फलेर झुन्डिका रहर लाग्दा टमाटर, काँक्रा, भेडे खुर्सानी र भन्टा छन्।
‘फलेको काँक्रा ठूलो हुनै पाउँदैन, यही आएर खोसाखोस गर्छन,’ धिताले भने ‘हाम्रो उत्पादन विषदीरहीत हुन्छ त्यसले गर्दा खोसाखोस हुन्छ।’ तर जमिनमा लगाएको चुकन्दर र अचार बनाउन प्रयोग हुने केही उत्पादन भने नयाँ भएको हुँदा त्यो खोज्न कोही पनि नआएको जानकारी दिए। अमृत ६ बर्ष नेदरल्यान्ड बसेर स्वदेश फर्केका व्यक्ति हुन्।
उनले त्यहाँ झन्डै ५ वर्ष यस्तै कृषि फर्ममा काम गरेर अनुभव संगाले। नेदरल्यान्डमा सिकेको त्यही सीप र ज्ञान आज धितालले स्वदेश फर्केर प्रयोगमा ल्याएका छन्। यो प्रविधिबाट गरिने खेतीमा माटोको प्रयोग नै हुँदैन।
यस्तो खेतीलाई ‘हाईड्रोपोनिक बकेट’ वा ‘डच बकेट’ खेती पनि भन्ने गरिन्छ। यो प्रविधिको खेतीमा माटोको सट्टा ‘परलाईट’ र ‘क्लेपेवल’ प्रयोग गरिन्छ । जसलाई समग्रमा मिडिया भन्ने गरिन्छ।
बिरुवाका जरा अड्याउन सहयोग गर्ने आवश्यक तत्व उपलब्ध गराउन सहयोग गर्ने हुँदा त्यसलाई मिडिया अर्थात माध्यम भन्ने गरिन्छ। टनेल निर्माण गर्नेदेखि मिडिया लगायका यी सबै सामाग्री धितालले चीनबाट ल्याएको बताए।
टनेल (संरचना) निर्माणमा मात्रै धितालको ८५ लाख खर्च भएको छ। ४३ लाख जति धितालले व्यक्तिगत लगानी गरेका छन् भने थप त्यति नै रकम साना तथा मझौला किसान आयस्तर बृद्धि आयोजिनाको पुरक अनुदानमा उपलब्ध गराउने सहमति भएको छ।
४६ लाख अनुदानमा उपलब्ध गराउने सहमति भए पनि आयोजनाबाट हालसम्म २२ लाख जति रकम मात्रै उपलब्ध भएको धितालले बताए। विद्युत लगायतका अन्य पूर्वाधार निर्माणमा विलम्ब भएको हुँदा रकम निकासा नभए पनि अब निकट भविष्यमै हुनेमा उनले आशा व्यक्त गरे। आधुनिक प्रविधिबाट खेती गर्दा सजिलो हुने उनले बताए।
परम्परागत रुपमा माटोमा तरकारी खेती गर्दा सोचे अनुरुप फाईदा नुहने हुँदा आफुले आधुनिक प्रबिधिबाट तरकारी खेती शुरु गरेको धितालले बताए। हाईड्रोपोनिक बकेट प्रविधिवाट खेती गर्दा लामो समयसम्म उत्पादन लिन सकिने उनले बताए। बिद्युतको प्रयोग गरेर प्रत्येक तरकारीको बोटमा त्यसलाई चाहिने आवश्कय तत्व फिड पाईप मार्फत एकै साथ पु¥याउन सकिने हुँदा खेती गर्न सजिलो हुने उनको भनाई छ ।
बिरुवालाई चाहिने सबै १६ प्रकारका तत्व पानीमा मिलाएर इलेक्ट्रिक सिस्टमबाट दिँदा बिरुवामा कुनै रोग वा कीराले आक्रमण गर्ने सम्भावना नरहने उनले बताए।
तरकारीका लागि आबश्यकता अनुसारको वातावरण निर्माण गर्न रुफ भेन्टिलेटर, अटोमेटिक सेड नेट, कुलिङ प्याड र ईस्जाउटर पंखा जडान गरिएको हुँदा बाह्रै मास टनेलभित्र समान वातावरण निर्माण गर्न सहज हुने धितालले बताए।
यस्तो प्रविधिको खेती गर्दा अधिकांस काम बिद्युतको सहायताले हुने उनले जानकारी दिए। ‘हामीले लगाएको खेतीलाई जस्तो वातावरण आवश्यक पर्छ त्यो सबै प्रविधिको प्रयोगले निर्माण गर्न सकिन्छ’ उनले थपे ‘त्यसैले चर्को गर्मीले विरुवा मर्ला, चिसोमा तुसारोले खाला वा वर्षामा अत्यधिक पानीले नोक्सान पुर्याउला कि भन्ने चिन्ता यसमा पटक्कै हुँदैन।’ वर्षामा हिउँदको जस्तो र हिउँदामा बर्षातको जस्तो वातावरण टनेल भित्र सृजना गर्न सकिने धितालले जानकारी दिए।
‘पुरानो पद्धतीबाट कृषि गर्नु भनेको निर्वाहमुखी मात्रै हो’ उनले भने ‘यदी हामीले नयाँ प्रविधिको खेती गर्न थाल्यौं भने केही बर्षमै भारतबाट आउने तरकारी पूर्ण रुपमा रोकिन्छ।’ बरु यताको उत्पादन उता पठाएर देशले आर्जन गर्न सक्ने धितालको भनाई छ। हाईड्रोपोनिक बकेट प्रविधिबाट गरिने खेती बिषादीरहीत हुने र बेमौसमी तरकारी उत्पादन गर्न सकिने उनले बताए।
उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरेर तरकारी उत्पादन गर्न नसक्ने हो भने त्यसले भविष्यमा धेरै दिर्घरोगीहरुको संख्या बढाउने धितालको तर्क छ ।
‘हामीले मनपरी मल, विउविजन र विषादी प्रयोग गर्दा मानिसको स्वास्थ्य जोखिममा पर्छ,’ उनले भने ‘बजारमा विषादी नभएको तरकारी पाउन मुस्लिक पर्छ। तर हाम्रो उत्पादन सतप्रतिशत अर्गानिक हुने गर्छ।’
समाजशास्त्रबाट स्नातोकोत्तर उत्तिर्ण गरेका धिताल समाजप्रति किसान पनि जिम्मेवार हुनुपर्ने बताउँछन्। हाईड्रोपोनिक बकेट प्रविधिबाट खेती गर्दा तुलनात्मक रुपमा श्रमिक पनि थोरै भए पुग्ने उनको भनाई छ। यो प्रविधिमा विरुवाको जरा सानो हुने लहरा वाला खेती गर्न सहज हुने उनले बताए।
धितालले थालेको हाईड्रोपोनिक बकेट प्रविधिको खेती दाङको लागि नौलो र आधुनिक प्रविधिको खेती हो । संरचना निर्माणमा मात्रै ८५ लाख खर्ची सकेका उनी कत्ति पनि विचलित छैनन्। ‘मेरो जति खर्च हुनु थियो त्यो भइसक्यो, अब खर्च हैन, मेरो कमाई मात्रै हुने छ,’ धितालले भने।
यस्तै प्रविधिको सिको हुँदै गएमा भविष्यमा नेपाल तरकारी उत्पादनमा ढुक्कका साथ आत्मनिर्भर हुने धितालको भनाई छ।