ढिकपुर निवासी ४२ वर्षीया रुपनी चौधरीको खेतबारीमा लटरम्म तरकारी फलेको छ। करेला, टमाटर, सिमी,बोडी लगाएको ताजा तरकारी उनको खेतबारीमा प्रशस्तै छ।
चौधरी मात्रै हैन, दाङ घोराही उपमहानगरपालिका वडा नं. १७ ढिकपुर गाउँभरि नै त्यसरी नै तरकारी खेती गरिएको छ। हरेकले ४/५ कठ्ठाको क्षेत्रफलमा तरकारी खेती गरिएको छ।
तरकारी खेतीले गाउँ नै हराभरा छ। रुपनीका अनुसार एक कठ्ठा क्षेत्रफलबाट एक सिजनमा खर्च कटाएर झन्डै एक लाख जति आम्दानी हुने गर्छ।
जेठको महिनामा पनि यहाँका किसान कसैको पनि खेतबारी बाँझो छैन। आफ्नै खेतबारी नहुनेहरूले जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन्। तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि केहीले जागिर त्योगेर कृषि पेशा अंगालेका छन्।
घोराहीमा ११ वर्षदेखि गर्दै आएको भेटनरीको जागिर छोडेर ३० वर्षीय भागिराम चौधरीले अहिले कृषि पेशा अंगालेका छन्।
‘आजमात्रै मैले टमाटर बचेर एकैदिन १० हजार बुझेर ल्याए। जागिर खाँदा महिना दिनमा मात्रै तलब पाइन्छ। मेहेनत गर्नेहरूलाई व्यवसायिक तरकारी खेतीबाट फाइदा फाइदा छ,’ चौधरीले भने।
विदेशिएकाहरू पनि घर फर्किएर तरकारी खेती गरिरहेका छन्। ढिकपुर चौधरी बहुल गाउँ हो। ३५ वर्षीय भिमबहादुर चौधरी जस्ता यसअघि ६/७ वर्ष खाडी मुलुकमा पसिना बगाई रहेका युवाहरू कृत्रिम जलासय निर्माण पछि गाउँ फर्किएका छन्।
सिजन अनुसार विभिन्न खाले तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहेका छन्।
कृत्रिम जलासय निर्माणले ढिकपुर गाउँमा बाह्रैमास सिँचाइको प्रबन्ध छ। त्यही भएर यहाँ बाह्रैमास तरकारी खेती गर्न संभव भएको हो।
आज यो गाउँबाट कामको खोजीमा विदेशिने क्रम पनि पूरै रोकिएको छ। हाल ढिकपुर गाउँबाट विदेशिने कोही छैनन्।
गाउँमै ठूलो कृत्रिम जलासय निर्माण भएपछि सुरूमा मलेसिया त्यसपछि कतारमा श्रमका लागि पुगेका भिमबहादुर परिवारको सल्लाहमा गाउँ फर्किएर परिवारसँग रमाउँदै तरकारी खेती गरिहेका छन्।
भिमबहादुरको बारीमा पनि अहिले काँक्रा, सिमी,करेला, लौका, खुर्सानी लटरम्म फलेको छ।
स्थानीयका अनुसार ढिकपुरमा हाल खेती भइरहेको ठाउँमा कृत्रिम ताल निर्माण गर्नुभन्दा पहिले सुख्खा सिजनमा सिँचाइको प्रबन्ध थिएन। त्यतिबेला यहाँ वर्षे र हिउँदे खेती बाहेक अरु समयमा कुनै पनि खेती हुँदैन थियो।
वैशाख जेठमा हुरुरुरु धूलो उड्ने, उजाड र बाँझो डाँडो मात्रै हुन्थ्यो। तर आज कृत्रिम ताल निर्माण गरिएपछि बाह्रैमास हरियाली छाएको छ। आज मेहेनत गर्नेहरूले विदेशको भन्दा गाउँ घरमै राम्रो कमाइ गरिरहेका छन्।
दुई वर्ष अगाडि घोराही उपमहानगरपालिकाले कृत्रिम पोखरी निर्माण गरिदिएको हो। किसानका लागि आज त्यो वरदान नै सावित भएको छ। कृत्रिम पोखरी निर्माणसँगै ढिकपुर गाउँको आज परिचय नै फेरिएको छ। कृषि पटेक क्षेत्रको रूपमा स्थापित हुँदै गएको छ।
यहाँका किसानले अहिले परम्परागत अन्नबालीको खेती गर्न छोडेका छन्।
ढिकपुर ताल संरक्षण समितिका अध्यक्ष किरण चौधरीले अन्नबालीको सट्टा गाउँका किसानले सिजन अनुसारको तरकारी खेती गर्न थालेको बताए।
४३ वर्षीय चौधरीले ताल समृद्धिको आधार बन्न थालेको भन्दै खुसी साटे।
‘हामीले मकै,धान जस्ता परम्परागत अन्नबालीको खेती गर्न छोड्यौं,’ चौधरीले भने, ‘जेबाट धेरै फाइदा हुन्छ त्यही खेती गर्ने हो। अन्नबालीको खेतीभन्दा तरकारी खेतीबाट हामी गुणात्मक फाइदा लिन सफल भएका छौं।’
घोराही नगरको ४५ लाख रकम र २ लाख ३७ हजार बराबरको स्थानीयको श्रमदान वाट बाँध बाँधेर यहाँ कृत्रिम जलासय निर्माण गरिदिएको हो। ८ बिघा जतिको क्षेत्रफलमा गाउँको प्राकृतिक वातावरण कुनै पनि नबिगारेर जलासय निर्माण गरिएको छ।
त्यही जलासय (तालबाट) बाह्रैमास गाउँमा सिँचाइको प्रबन्ध गरिएको छ। तालमा अझै पनि ७ मिटर भन्दा बढी पानी छ।
ताल वरिपरिको वातावरण मनमोहक देखिन्छ। उखरमाउलो गर्मीमा पनि शितल नै हुन्छ। वस्तु चौपाया र पशु पंक्षीको लागि पनि सजिलो भएको छ।
वैशाख जेठमा यो गाउँमा यसअघि पानीको हाहाकार हुने गर्थ्यो। घरमा पालेका जनावरलाई खुवाउने पानी समेत पाउन मुश्किल पर्थ्यो। हिउँदमा पानी सिँचाइको लागि स्थानीय किसान सिस्ने खोलाको सिरानमा गएर पानी डोर्याउनु पर्ने बाध्यता थियो। त्यहाँबाट पानी डोर्याएर ढिकपुरसम्म ल्याउन एक हप्ता भन्दा बढी लाग्थ्यो। तर आज जतिबेला मनपर्यो त्यतिबेला गाउँका सबैले आफूखुसी खेतबारीमा सिँचाइ गर्न पाएका छन्।
‘यो तालमा अनेक थरिका चराहरू आउन थालेका छन्। कहिलै नदेखेका सुन्दर चराहरू देख्दा गाउँले दंग पर्छौं,’ रुपनी चौधरीले भनिन् ‘हामीले तालमा हजारौं माछा पनि पालेका छौं। अब तालमा डुङ्गा चलाउने र यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने सल्लाह भएको छ।’
भविष्यमा बहुउद्धेश्य पोखरीबाट हुने आम्दानीमध्ये ६० गाउँलेलाई र ४० नगरपालिकालाई बुझाउने सहमति पनि भएको छ।
माछापालन र डुङ्गा उत्पादनबाट भएको आम्दानीबाट बुझाउने सहमति भएको छ।
घोराही १७ बर्गद्दीको आरोग्य ड्यामको माछा जेठ महिनामा मात्रै मारिएको हो। माछा बचेर आएको रकम उपभोक्ता र नगरको लागि सहमति अनुसार छुट्याइएको ६५ वर्षीय प्रकाश न्यौंपानेले जानकारी दिए।
आरोग्य ड्याम नगरको सबभन्दा पहिलो निर्माण भएको कृत्रिम जलासय हो। ८ वर्ष पहिलेको ड्यामलाई पछिल्लो समय घोराही नगरले थप विस्तार तथा व्यवस्थित गरेको हो। फागुन महिनादेखि नै पानीको अभाव हुने बर्गद्दीमा यही ड्यामको निर्माणपछि सिँचाइमा सजिलो हुँदै आएको न्यौपानेले बताए।
‘कसैले मकै रोपेका छन्, कसैले काँक्रा, कसैले बोरी, कसैले टमाटर, कसैले लौका गाउँमा सबैले धेर थोर खेती गर्दै आएका छन्,’न्यौपानेले भने ‘कृत्रिम जलासय निर्माणपछि गर्न सक्नेलाई लाभैलाभ छ।’
घोराही नगरका १९ वटा वडा मध्य वडा नं. १७ मा मात्रै ६ वटा यस्ता कृत्रिम जलासय निर्माण गरिएका छन्। एउटा भने निर्माणाधीन नै छ। वडा नं. १७ की वडा सदस्य रेमन्ता पुन मगरले डबरी, आरोग्य, ढिकपुर, कटही, बर्गद्दी,गुलरियामा कृत्रिम जलासय निर्माण गरिएको बताइन्।
कटही नमूना ड्याम जल उपभोक्ता संस्थाको पानीले गाउँभर सिँचाइको प्रबन्ध गर्न हाल धमाधम गाउँभरि नै पाइप बिच्छाउने काम भइरहेको ३९ वर्षीय छल्लु चौधरीले जानकारी दिए।
साढे ५ विगाहा क्षेत्रफलमा फैलिएको कटही ताल गत साल मात्रै निर्माण गरिएको हो।
यो ताल बृहत सिँचाइ आयोजनाको रकमबाट ६१ लाखको लागतमा निर्माण भएको हो। घोराही नगरकै आयोजनामा ताल निर्माण गरिएको हो। करिब डेढ करोडको रकमले गाउँभर पाइपलाइन बिच्छाउनेदेखि ओभरहेड ट्याङ्की, दुइटा पम्प हाउस, त्रिफेस लाइन र ट्रान्समिटर जडान गरिने भएको छ।
पानी लिफ्टिङ गरी गाउँभर नै सिँचाइको प्रबन्ध कटही तालबाट गर्ने योजनाका साथ धमाधम काम भइरहेको वडा नं. १७ की वडा सदस्य रेमन्ता पुन मगरले जानकारी दिइन्।
घोराहीका १९ वटै वडामा जलासय निर्माण गर्छौं : मेयर चौधरी
घोराही उपमहानगरमा हालसम्म २ वर्षको अवधिमा नयाँ र पुराना गरी १८ वटा कृत्रिम जलासय निर्माण गरिएको छ। गत वर्ष १२ वटा ताल निर्माण गरिएको थियो भने यो वर्ष थप ६ वटा त्यस्ता बहुउद्धेश्य तालहरू निर्माण भइरहेका छन्।
घोराहीका मेयर नरुलाल चौधरीले नगरका १९ वटै वडाहरूमा कृत्रिम जलासय निर्माण गरी नगरवासीलाई समृद्धिको यात्रामा डोर्याउने उद्धेश्यले धमाधम जलासय निर्माण गरिएको जानकारी दिए।
एकातिर जलासय क्षेत्रलाई रिसोर्ट, पिकनिक क्षेत्रको रूपमा विकास गर्न सहज हुने र अर्कोतर्फ माछा पाल्ने तथा सिँचाइको प्रबन्ध गरी आधुनिक खेती गर्न सजिलो हुने भएको हुँदा जलासय निर्माण गर्दै आएको उनले बताए ।
एउटा जलासय निर्माण गर्न कम्तीमा ३० लाखदेखि एक करोडसम्म खर्च गरिएको मेयर चौधरीले बताए।
नगरको हरियाली प्रवर्द्धन गर्न, स्वच्छ, नगरवासीलाई कृषि र पर्यटनमार्फत् आत्मनिर्भर बनाउन कृत्रिम ताल निर्माणमा जोड दिइएको उनले बताए।
घोराहीमा निर्मित जलासयबाट मानविय क्षति पनि भएको छ।
मानविय क्षति बढेपछि पछिल्लो समय सार्वजनिक सूचनामार्फत् तालमा पस्न, नुहाउन,माछा मार्न, लुगाधुन तथा पौडिखेल्न प्रतिवन्ध लगाइएको छ ।