घोराही उपमहानगरपालिका वडा नं. १७ ढिकपुरका ४३ बर्षीय किसान किरण चौधरीले ब्यापारीलाई बोडी प्रतिकिलो ४० रुपैयाँका दरले बेचे।
उनले प्रतिकिलो ४० रुपैयाँका दरले बेचेको बोडी सोही दिन स्थानीय तरकारी बजारबाट उपभोक्ताले दोब्बर बढी मूल्य तिरेर किन्नुपर्यो।
स्थानीय बजारसम्म पुग्दा त्यही बोडी किलोमा ४० देखि ६० रुपैयाँसम्म महंगियो। त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मुलकोटमा १ किलो टमाटरको मूल्य किसानको खेतबाट किन्दा ४० देखि ५० रुपैयाँ पर्छ।
त्यही टमाटर स्थानीय तरकारी बजारसम्म पुग्दा किलोको ८० देखि १०० रुपैयाँमा बिक्री हुनेगर्छ।
गाँजर,करेला लगायतका अन्य तरकारी पनि किसानले पाएको मूल्य भन्दा भन्दा दोब्बर मूल्यमा बिक्री भइरहेको छ।
किसानको खेतबाट स्थानीय बजार सम्म पुग्दा तरकारीको मूल्य दोब्बरले बृद्धि हुनुको कारण तरकारी ब्यापारमा बिचौलिया मौलाउनु रहेको तुलसीपुर ४ मुलकोटका किसान धनविर घर्तीको भनाइ छ।
तरकारीको मूल्य बढ्नुको मुख्य कारण स्थानीय सरकाले नजिक बजारको व्यवस्था नगर्नु, खराब सडकबाटो, तरकारी ओसारपोसारका लागि किसानसँग आफ्नै साधन नहुनु रहेको भन्दै विचौलियाले किसानको खुन पसिनामा रजाँई गर्दै आएको आरोप लगाए।
‘किसानको खेतवारीसम्म पुग्ने बाटो छैन, डोकोमा बोकेर तरकारी तुलसीपुर बजार पु¥याउन ४,५ घन्टा लाग्छ,’ घर्तीले भने ‘ भाषणमा किसानको कुरा गरेर नथाक्ने हरेक सरकारले किसानको पक्षमा काम नगर्दा किसानको पसिनामा बिचौलियाको हालिमुहाली छ। नाफा जति बिचौलियालाई छ। उपभोक्तासँगै किसान पनि मारमा परेका छन्।’
तुलसीपुर मुलकोटकी ३९ बर्षीया किसान सीता वली भन्छिन्, ‘सरकारकै उदासिनताले गर्दा किसान र आमउपभोक्ताको खुन पसिना चुसेर विचौलिया जुका जस्तै मोटाउने अवसर पाउँदै आएका छन।
‘यहाँवाट डोको नाम्लोमा बोकेर तरकारी तुलसीपुर बजार सम्म लैजान दिनभर लाग्छ। न हाम्रो गाडी छ, न यहाँ आउन गतिलो बाटो नै छ। त्यसैले तरकारी खेतवारी मै कुहिनु भन्दा विचौलियाले जतिभन्छन् त्यही मुल्यमा दिनु हाम्रो बाध्यता हो,’ वलीले भनिन् ।
उनले आफ्नो ११ कठ्ठा नीजि जग्गा र स्थानीय कुलबहादुर रानाको ५ कठ्ठा जग्गा बार्षिक ८ हजारमा भाडा तिरेर कुल १६ कठ्ठा क्षेत्रफलमा टमाटर, आलु, खुर्सानी, भेडे खुर्सानी, केराउ लगायत सिजन अनुसार खेती गरिरहेकी छिन्।
वलीले भनिन् ‘श्रीमान जागिरको सिलसिलामा जिल्ला बाहिर हुनुहुन्छ। छोरा छोरी स्कुल पढ्छन् । नजिकमा व्यवस्थित बजार छैन । त्यसैले विचौलियालाई बेच्ने बाध्यता छ।’
घोराही १७ ढिकपुरकी ४२ बर्षीया रुपनी चौधरी पनि बजार व्यवस्थापन राम्रो भए कृषक र उपभोक्ता दुबैले राहत पाउने बताउँछिन्।
यायातातको सहज पहुँच नहुनु र नजिकमा बजारको व्यवस्था नहुँदा किसानले श्रमको उचित मूल्य पाउन नसकेको उनले बताइन।
‘एकातर्फ किसान मर्कामा छौं भने अर्कौ तर्फ उपभोक्ताले महंगोमा तरकारी किन्नु परेको छ,’ चौधरीले भनिन, ‘हाम्रोमा त काम गर्ने कालु र मकै खाने भालु भन्ने जस्तै भएको छ।’ तर उनले यसमा किसानको समेत कमजोरी औंल्याइन।
‘हामी कृषकहरु पनि एकजुट हुन सकेका छैनौं,’चौधरीले भनिन् ‘हाम्रो बीचमा एकता भए भाडामा गाडी खेतमै ल्याउन सकिन्थ्यो। बजार व्यवस्थापनको लागि स्थानीय सरकारलाई दबाव दिन सजिलो हुने थियो।’
आफै बोकेर घर घरमा डुल्दै तरकारी बेच्नु भन्दा सबै मिलेर गाडी मार्फत एकमुष्ट तरकारी बजारमा पठाउन सके किसानलाई राहत मिल्ने र आम उपभोक्तले तरकारी सस्तोमा पाउनसक्ने भनाइ राखे।
उनले बेसिजनमा अधिकाँस विचौलिया खेतवारीमा तरकारी खोज्दै आउने र अघिपछि आफै बोकेर डुलाउँदै तरकारी बेच्नुपर्ने अवस्था रहेको बताइन।
कतिपय व्यापारीले तरकारी खेती गर्नु भन्दा पहिले नै मल विउ विजनको नाममा खर्च दिने र पछि उत्पादित तरकारीमा आफुखुसी मूल्य निर्धारण गर्ने गरेको जानकारी दिइन।
उनले किसान र व्यापारीको बीचमा सोझै सम्पर्क कायम गर्न सके बीचौलियाको चलखेलमा न्यूनिकरण आउने धारणा राखे।
किसानले उत्पादन गरेको तरकारी आफै बेच्न पाउने गरि राज्यले बजारको उचित व्यवस्था गर्नसके बिचौलियाको अन्त्य हुने र किसान, उपभोक्ता दुवैलाई फाइदा हुने धारणा राखे।