वार्षिक १५ करोड मूल्यभन्दा बढीको अन्डा उत्पादन हुने बारामा खुल्ला सीमाको कारण दिनहुँ भारतीय अन्डा भित्रिन थालेपछि बर्डफ्लुको जोखिम बढ्दै गएको छ।
खुल्ला सीमाको फाइदा उठाउँदै तस्करले भारतबाट कुखुराको सेतो अन्डा तस्करी गरी नेपाल भित्रयाउने गरेका छन्। जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर तथा नेपाली नाका मटिहर्वा, कबैगोठ, सीमरौनगढ, कचोर्वालगायत नाकाबाट तस्करले साइकल, मोटरसाइकल र जिपमा ठूलो परिमाणमा सेतो अन्डा तस्करी गरी बाराको ग्रामीण भेगका बजारमा पुर्याउने गरेका छन्।
जिल्ला पशुसेवा कार्यलय बाराका वरिष्ठ पशु विकास अधिकृत डा देवनन्नदन साह सुरक्षाकर्मीको लापरबाहीका कारण भारतीय अन्डा नेपाल भित्रिने गरेको बताउँछन्। तस्करले क्वारेन्टाइन चेक पोस्टमा कार्यरत सुरक्षाकर्मी र कर्मचारीलाई मासिक रुपमा घुस खुवाउने गरेका नेपाली व्यापारीको आरोप छ।
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराका सशस्त्र प्रहरी उपरीक्षक कुमार न्यौपाने सीमा नाकामा व्यापक कडाइ गर्दै आएको बताउँछन्। सरकारले भारतीय अन्डा आयातमा प्रतिबन्ध लगाएको छ । रासस