किसानले चासो नदेखाएपछि भूकम्प प्रभावित कृषकका लागि आएको अनुदान रकम अझैसम्म खर्च हुन सकेको छैन ।
जिल्ला पशुसेवा कार्यालयले पटक पटक सूचना जारी गर्दासमेत किसान सम्पर्कमा नआएपछि बजेट फिर्ता हुन लागेको हो । कार्यालयमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कोषबाट चालु आव २०७३÷७४ मा भूकम्प प्रभावित किसानलाई वितरण गर्न ६१ लाख ८९ हजार प्राप्त भएको थियो ।
उच्च प्रजनन क्षमताका बोका वितरण, दूध उत्पादन राहत र मासु उत्पादन वृद्धि कार्यक्रम शीर्षकमा किसानलाई अनुदान उपलब्ध गराउन बजेट प्राप्त भए पनि आवश्यकताअनुसार किसानबाट माग नआएको कार्यालयले जनाएको छ ।
भूकम्प प्रभावित कृषकलाई बाख्राको गोठ निर्माण, भकारो सुधार, बोका वितरण, बङ्गुरका पाठापाठी खरिद, घाँसको बीउ, पशु शिविर सञ्चालन गर्न जिल्ला पशुसेवा कार्यालयलाई सो बजेट प्राप्त भएको हो । एकसय २५ जना कृषकबाट मात्र अनुदान रकम लिन माग आएको पशु चिकित्सक जीवनप्रसाद आचार्यले बताए।
भूकम्प प्रभावित प्रतिकिसान १० हजारदेखि २५ हजारसम्म अनुदान दिन सकिने कार्यक्रम भएको उनले बताए। पटक पटक सूचना गर्दा पनि आवश्यक मात्रामा किसानबाट माग नआएको पशुसेवा कार्यालयका पशु विकास अधिकृत नरबहादुर बानियाँले बताए।
“अनुदान आएको छ, लैजानुस् भनेर पत्रपत्रिका र एफएममार्फत जानकारी गराएका छौँ”, पशु विकास अधिकृत बानियाँले भने, “अनुदानप्रति किसानले नै चासो देखाएनन् करिब ३० लाख फिर्ता हुने भयो ।” अझै पनि अनुदान लिन इच्छुक कृषक आएमा अनुदान दिन सकिने कार्यालयले जनाएको छ । रासस