कालिमाटी फलफूल तथा तरकारी बजारमै यतिखेर नास्पाती महँगो मूल्यमा बिक्री भइरहेको छ। सिजनमा प्रतिकेजी २० रुपैयाँमै पाइने यो फल अहिले प्रतिकेजी १२० रुपैयाँ खुद्रा मूल्य पर्ने गरेको छ।
अहिलेको नास्पाती चिनियाँ भएकाले महँगो पर्न गएको समितिका योजना अधिकृत रमेश डंगोलले जानकारी दिए। नेपाली नास्पाती कालिमाटी बजारमा अझै आउन नसकेको उनले बताए। ‘अहिलेको नास्पाती चिनियाँ भएकाले महँगो परेको हो, जब नेपाली नास्पाती आउँछ त्यसपछि यो पनि केही सस्तिन्छ’ उनले भने।
सिजन भइसकेपछि नेपाली नास्पाती प्रतिकेजी २० रुपैयाँमै पाइने गरेको छ। भदौको पहिलो साता नास्पातीको मूल्य प्रतिकेजी २० रुपैयाँकै आसपासमा पर्ने फलफूल व्यापारीहरु बताउँछन्।
कालिमाटी तरकारी बजारमा विगत ७ वर्षदेखि फलफूलको व्यापार गर्दै आएका बोधराज सापकोटाले केही दिनमै नेपाली नास्पाती बजारमा आउने बताए। ‘फाट्टफुट्ट अहिले पनि केही नास्पाती देखिन्छ, तर भदौमा पर्याप्त आउने भएकाले त्यतिखेर मूल्य २० रुपैयाँकै आसपासमा झर्छ’ उनले भने।
कालो र सेतो गरी दुई प्रकारका नास्पाती बजारमा पाइने उनले बताए। सेतो नास्पाती चाँडै बजारमा आएर चाँडै नै सिजन सकिन्छ भने कालो नास्पातीको सिजन अवधि केही लामो हुने गरेको उनले बताए। ‘सेतोभन्दा कालो नास्पाती बढी स्वादिलो हुन्छ र तुलनात्मक रुपमा केही महँगो पनि पर्छ’ उनले भने।
राजधानीमा काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, मकवानपुर लगायत जिल्लाबाट नास्पाती आउने गर्दछ। हेर्नुहोस् शुक्रबारका लागि कालिमाटी तरकारी तथा फलफूल विकास समितिले तोकेको फलफूलको न्यूनतम, उच्चतम र औसत खुद्रा मूल्य