जिल्लामा २५ लाखभन्दा बढी अलैँचीका बिरुवा विक्री भएको छ । जिल्लाका विभिन्न नर्सरीबाट दुई करोड रुपैयाँभन्दा बढी मूल्यका बिरुवा विक्री भएको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष अजय तामाङले जानकारी दिए । जिल्लाका विभिन्न नर्सरीमा करीब ७० लाख बिरुवा उत्पादन भएको थियो । अलैँची रोप्न साउन महीना उपयुक्त समय हो । अझै बिरुवा विक्रीका क्रममा रहेको छ ।
जिल्लाबाट स्याङ्जा, गोरखा, धादिङ, कास्की, बागलुङ, म्याग्दीलगायत जिल्लामा अलैँचीका बिरुवा निकासी भएको छ । बिरुवा विक्री वितरणका लागि जिल्ला कृषि विकास कार्यालयलगायत सङ्घसंस्थाले समन्वय गर्दै आएका छन् ।
अलैँची विकास केन्द्रका प्रमुख पदमप्रसाद अधिकारीको टोलीले जिल्लाको छिनखोला, भुष्मे र नयाँगाउँमा अनुगमन गरेको थियो । कृषकले अलैँची बगान व्यवस्थापनमा ध्यान नदिएकाले पुराना बोटमा समस्या देखिएको अधिकारीले बताए। ‘केही ठाउँमा बाक्लो छहारी भई आवश्यक तापक्रम नपुग्दा बोटमा ढुसी लागेको पाइयो’, उनले भने – ‘रोग लागेको होइन, बढी चिस्यानले ढुसी लागेको हो ।’ पुरानो बगैँचा भएकाले पनि पुरानो बोटमा समस्या देखिएको हो । अलैँची बगानमा छहारी पातलो बनाउन र गोडमेलमा ध्यान दिन उनको सुझाव छ । रासस