मेनपावर व्यवसायलाई व्यवस्थित गर्न राज्य र व्यवसायी दुवै लाग्नुपर्ने विभिन्न क्षेत्रका व्यक्तित्वले सुझाव दिएका छन् ।
बिर्तामोडमा आज आयोजित ‘मेनपावर व्यवसाय र चुनौती’ विषयक अन्तरक्रियाका सहभागीले राज्यले ऐन कानुन बनाउनुपर्ने तथा व्यवसायीले मर्यादित भएर व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जनताको जीवनस्तर उकास्न वैदेशिक रोजगारको महत्पूर्ण योगदान भएको बताए। वैदेशिक रोजगार व्यवसायी सङ्घका संयोजक धनबहादुर पन्धाकले मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणले धानेको भए पनि राज्यले यसलाई गम्भीरताका साथ नहेरेको आरोप लगाए। कार्यक्रमको आयोजना आवर डेस्टिनी मेनपावर शाखा बिर्तामोडले गरेको हो ।रासस