गृहमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवा–युवतीहरुको समस्या समाधानका लागि प्रहरीको स्पेशल फोर्स बनाएर परिचालन गरिने बताएका छन्।
बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिको बैठकमा बोल्दै मन्त्री शर्माले युवाहरु ठगिएको हजारौं उजुरी प्रहरी समक्ष आउने गरेको उल्लेख गरे। ‘ठगिएको पैसा फिर्ता नपाउँदा धेरै घरबारविहीन भएका छन्, त्यस्तो समस्या समाधान गर्न प्रहरीको छुट्टै ब्युरो गठन गरेर परिचालन गर्नेगरी गृह मन्त्रालयले तयारी गरिरहेको छ’ उनले भने।
धेरै नेपाली कामदार भएका देशहरुमा प्रहरीको अफिसर पठाएर समस्या समाधान गर्नेबारे पनि तयारी भइरहेको उनले बताए। वैदेशिक रोजगारको समस्या समाधान गर्न सरोकारवाला मन्त्रालय, विभाग र मेनपावर कम्पनीहरुबीचमा समन्वयको अभाव भएको शर्माको भनाइ छ।
‘अवैध रुपमा विदेशिनेहरुलाई रोकथाम गर्नका लागि अध्यागमनको क्षमता अभिवृद्धि गर्नेतिर मन्त्रालय लागेको उनले बताए। ‘फ्रि–भिसाको प्रावधानलाई समेत हामीले नियमन गर्न सकेनौँ’ मन्त्री शर्माले भने ‘दलालहरुले त्यही फ्रि भिसा बेचिराखेका छन्, बाहिर १० हजार बुझाएको रसिद दिएर भित्र एक लाख रुपैयाँ असुलिरहेका छन् ।’