नेकपा एमाले र माओवादी केन्द्रका विद्यार्थी संगठन प्रमुख एकअर्काका पार्टी अध्यक्षको चुनावी प्रचारमा खटिने भएका छन्।
अनेरास्वयुकी अध्यक्ष नविना लामाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जिताउने अभियानमा लाग्ने भएका छन्।
दुबै संगठनको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको क्रान्तिकारीका अध्यक्ष तामाङले सेतोपाटीलाई बताए।
‘हामीले गठबन्धनलाई जिताउनका लागि वाम विद्यार्थी परिचालन समिति बनाउने निर्णय गरेका छौं। नविनाजी प्रचण्ड र म केपी ओलीलाई जिताउन लाग्ने हौं,’ तामाङले भने।
बैठकले ११ हजार ११ सदस्यीय वाम विद्यार्थी परिचालन कमिटी गठन गरेको छ। दुवै संगठनबाट सन्तुलित प्रतिनिधित्व हुने गरी बनाइने कमिटीले वाम उम्मेदवारलाई जिताउन प्रचार/प्रसार र अपिल गर्ने भएको छ।
यसैगरी, संगठन गठबन्धनलाई जिताउनका लागि आगामी १८ गतेदेखि धनगढीबाट देश दौडाहामा लाग्ने भएको छ।
दुबै संगठनको बुधबार साँझ हुने पत्रकार सम्मेलनमा एमाले नेता शंकर पोखरेल र माओवादी नेता वर्षमान पुनले तालमेललाई एकतामा लैजाने लगायतका विषयमा सम्बोधन समेत गर्ने भएका छन्।