माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँगै आफूलाई इतिहासले भूमिका दिएको बताएका छन्।
चितवनमा उम्मेदवारी दर्तापछिको कोणसभामा प्रचण्डले ओलीसँग आफ्नो स्वभाव मिल्ने उल्लेख गरे।
'केपी ओली र मेरो स्वभाव कता कता मिल्ने रहेछ', प्रचण्डले भने, 'झगडा गर्न पर्यो भने भित्तामा पुर्याउन पछि नपर्ने, मिल्न पर्ने महसुस भयो भने ग्वाम्मै अंगालो हाल्ने।'
दुई वामपन्थी दलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेका छन्।
प्रचण्ड चितवन ३ मा गठबन्धनका उम्मेद्वार हुन्। एमालेका सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेलसँगै कोणसभामा प्रचण्डले एमालेसँगको गठबन्धन चुनावी रणनीति मात्र नभएको दाबी गरे।
प्रचण्डले दक्षिणपन्थी शक्ति निर्वाचन असफल पार्न सबैथरी हत्कन्डा प्रयोगमा जुटेको उल्लेख गरे।
'दक्षिणपन्थी प्रतिक्रियवादीले कम्युनिष्ट मिलेभने नेपाल गयो हाम्रो हातबाट भन्ने सोचेका छन्', उनले भने, 'उनीहरुको दिमागले अपराध बाहेक लोकतन्त्र सोच्दैन।'
उनले आफूहरु सतर्क रहन जरुरी रहेको बताए।
कांग्रेसले राप्रपासँगको गठबन्धनलाई लोकतान्त्रिक भन्न नसुहाउने उनको तर्क थियो।
'हाम्रो वामपन्थी लोकतान्त्रिक गठबन्धन हो', प्रचण्डले भने, 'कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन हो।'
लोकतन्त्र भन्ने शब्द कम्युनिष्टको भएकाले कांग्रेसले लोकतन्त्र शब्द प्रयोग गर्ने अधिकार नराख्ने बताए। 'उहाँहरुले प्रजातन्त्र भने हुन्छ।'
प्रचण्डले वाम गठबन्धनपछि कांग्रेसको घैँटामा घाम लागेका कारण विजयकुमार गच्छदारलाई फर्काएको उल्लेख गरे। 'अब महन्थजी लाई फर्काए हुन्छ,' उनले भने, 'राजासम्म नपुगे हुन्थ्यो।'