मुस्ताङको उत्तरी सीमानाका कोरला आसपासका गाउँको मतपेटिका २४ घण्टापछि सोमबार साँझ जिल्ला सदरमुकाम जोमसोम आईपुगेको छ।
उपल्लो मुस्ताङ प्रदेश ‘क’ लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, छोसेर र छोनुपका ७ मतदान केन्द्रका २१ मतपेटिका सुरक्षाकर्मी र राजनीतिक दलको रोहबरमा ट्रकमार्फत जोमसोम ल्याईएको हो।
यसअघि भौगोलिक बिकटता, जोखिम सडक र लामो दूरीका कारण संकलित मतपेटिका ईलाका प्रहरी कार्यालय लोमान्थाङमा राखिएको थियो। दालोमे गाउँपालिकाको घमी, चराङ, मराङ, समर आदि स्थानको ९ मतदानकेन्द्रको २७ मतपेटिका आईतबारको मध्यरातमा जोमसोम ल्याईपुर्याईएको हो।
त्यस्तै तल्लो मुस्ताङको २१ मतदान केन्द्रको ६३ मतपेटिका पनि आईबार साँझ जोमसोम ल्याईएको हो।
पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत मुस्ताङको ३७ मतदान केन्द्रमा भएको मतदानको सम्पूर्ण मतपेटिका सदरमुकाम जोमसोम आईपुगेको हो। अहिले ३७ मतदानकेन्द्रको प्रतिनिधि, प्रदेशसभा र समानुपातिकतर्फको १ सय ११ मत मतपेटिका जिल्ला समन्वय समितिको कार्यालयमा जम्मा भएको छ।
जिल्ला समन्वय समितिमा जम्मा भएका मतपेटिका कडा सुरक्षा निगरानीमा राखिने मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाटीले बताए। उनले जोमसोममा ल्याईएका १ सय ११ मतपेटिको रूजु गर्ने कार्य सकिएको र राजनीतिक दलले अलग अलग तालाबन्दी गर्ने व्यवस्था गरिएको जानकारी दिए। जिल्ला सुरक्षा समितिको निर्देशन अनुसार मतपेटिका राखिएको कार्यालयलाई बाहिरी घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र प्रहरी, प्रवेशद्धारमा म्यादी र भित्री परिसरमा नेपाल प्रहरीले कडा निगरानी गरेर व्यवस्थापन गरिने उनले बताए।
राजनीतिक दलको सहमतिमा मतपेटिका राखिएको स्थानमा सीसी क्यामेरा समेत जडान भएको र यसलाई ईन्टरनेटको सहायताले एप्स मार्फत घरमै बसेर मतपेटिकाको अवस्थाबारे अवलोकन गर्न सकिने उनको भनाई छ।
यसअघि आईतबार भएको मतदानमा ७१.८४ प्रतिशत मत खसेको थियो। मुस्ताङको ३७ मतदान केन्द्रमा ९ हजार ४ सय २७ मतदाता थिए। जसमा प्रदेश ‘क’ मा ५८ प्रतिशत र प्रदेश ‘ख’मा ७९ प्रतिशत मत खसेको हो।
उपल्लो मुस्ताङमा चिसो मौसममा भएकाले तल्लो मुस्ताङ प्रदेश ‘ख’ को अनुपातमा मत खस्न नसकेको बामगठबन्धनका उम्मेदवार ईन्द्रधारा बिष्टले जानकारी दिए।
मुस्ताङमा ३ राजनीतिक पार्टीका ८ उम्मेदवारले प्रतिनिधि र प्रदेशसभामा उम्मेदवारी दिएका हुन्। यहाँ नेपाली कांग्रेस र वामगठबन्धन बीच नै मुख्य प्रतिस्पर्धा भएको छ।