पार्टी एकताबारे ठोस छलफल गर्न आज हुने भनिएको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको भेट अनिश्चित बनेको छ।
केही दिनयता बिरामी परेका ओली पूरै निको नभएकाले आज भेट हुने सम्भावना नरहेको दाहालको सचिवालयले जनाएको छ।
‘अहिलेसम्म भेटको समय टुंगो लागेको छैन, सायद आज भेट हुँदैन होला,’ दाहालको सचिवालयका एक सदस्यले भने।
एमाले अध्यक्ष ओलीलाई केही दिनयता झाडा पखाला लागेको थियो। मंगलबार साँझदेखि उनको स्वास्थ्यमा सुधार आएको छ तर पूरै निको भएको छैन। माओवादी अध्यक्ष दाहालसँग आज हुने भेटबारे भने टुंगो नलागेको ओलीको सचिवालयले जनाएको छ।
यसअघि मंगलबार माओवादी अध्यक्ष दाहालले पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा बुधबार आफूले ओलीसँग एकताबारे ठोस छलफल गर्ने बताएका थिए।
ओलीसँगको भेटमा आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति बन्न नहुने धारणा अगाडि सार्ने दाहालले बैठकमा जानकारी दिए।
माओवादी नेता मणि थापाका अनुसार बैठकमा प्रचण्डले एकतापछि नेतृत्वमा ५०(५० प्रतिशत हुनु पर्ने धारणा राखेका थिए।
‘सरकारको नेतृत्व उहाँहरूले लिए पार्टीको नेतृत्व हामीले लिने र सरकारको नेतृत्व हामीले लिए पार्टीको नेतृत्व उहाँहरुले लिने ‘फिफ्टीरफिफ्टी को कन्सेप्ट’ हो भन्नुभयो’, थापाले सेतोपाटीसँग भने, ‘छलफल टुङ्गिएको छैन। फास्ट ट्र्याकमा पार्टी एकता गरेर जानुपर्छ भन्ने उहाँको धारणा थियो।’
बैठकमा दाहालले भनेका थिए, ‘ओलीजी बिरामी भएकाले कुरा हुन पाएको छैन। पार्टी अध्यक्ष, सरकारको नेतृत्वका विषयमा ठोस छलफल हुन बाँकी छ। पहिला हामी दुई जनाले मूर्त कुरा गर्छौँ अनि एकता संयोजन समितिमा कुरा हुन्छ।’