सर्वोच्च अदालतले धनुषा–३ को चुनावबारे स्थानीय टेलिभिजनले प्रसारण गरेको सामग्री झिकाउन आदेश दिएको छ।
सो क्षेत्रमा कांग्रेसका विमलेन्द्र निधिलाई हराउँदै राजपाका राजेन्द्र महतो विजयी भएका थिए। चुनावमा तेस्रो भएका माओवादीका रामसिंह यादवले मतदानको बिहान स्थानीय टेलिभिजनमा प्रसारित सामग्रीको असरले आफूले हारेको भन्दै पुनः मतदानको माग गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए।
सो मुद्दामा सुनुवाइ गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको संवैधानिक इजलासले बुधबार टिभीमा प्रसारित सो सामग्री मगाउने निर्णय गरेको हो।
‘वाम गठबन्धनका उम्मेदवारले राजपालाई सघाउनका लागि जनकपुर उपमहानगर पालिकाका मेयर लालकीशोर साह र वाम गठबन्धनका उम्मेदवार राम सिंह यादव बीच सहमति भएको भन्ने ब्रेकीङ्ग न्युज प्रशारण भयो सुन्य समयमा भएको यो कार्यले म निर्वाचनमा पराजित हुनुपरेको हो, मतदातालाई प्रभावित पार्ने गरि भएको उक्त कार्य भएकाले निर्वाचनको परिणाम नै अर्कै आएको हो, यहाँ फेरि स्वच्छ निर्वाचन गराउन आदेश जारी गरिपाउँ,’ यादवले दिएको मुद्दामा उल्लेख छ।
यादवले धनुषा ३ बाट २ हजार ३ सय ४६ मत पाएका थिए।
त्यस क्षेत्रमा राजपा अध्यक्ष मण्डलका महतोले कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई २९ सय मतले हराउँदै विजयी भएका थिए। महतोको मत ३० हजार ७ सय ५० आएको थियो भने उनका निकटतम प्रतिद्वन्दी निधिको मत भने २७ हजार ८ सय ४७ मत आएको थियो।
सोही इजलासले तनुहँ– २ को प्रदेश सभा (क) का सबै मतपत्र पनि मगाउने निर्णय गरेको छ। त्यहाँ मतगणनामा धाँधली भएकाले पुन मतदान गर्न कांग्रेस उम्मेदवार प्रदीप पौडेलले माग गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए। सो क्षेत्रमा माओवादीकी आशा कोइराला पौडेलको भन्दा ५ मत बढी ल्याएर विजयी भएकी थिइन्।