बालुवाटारमा बसेको पाँच राष्ट्रिय दलको बैठक सकिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा चुनावको मिति, प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नेबारे दलहरुसँग छलफल गर्न बालुवाटारमा बैठक बोलाएका थिए।
प्रधानमन्त्रीका सञ्चार विज्ञ गोविन्द परियारका अनुसार बैठकको सुरुमै प्रधानमन्त्री देउवाले यी तीन कुरामा छलफल गर्न बैठक डाकेको भन्दै यसमा दलहरुको धारणा मागेका थिए।
बैठकमा सहभागी अन्य दलका नेताहरुले संविधान र कानुन बमोजिम अघि बढ्न देउवालाई सुझाव दिएका थिए।
प्रदेश प्रमुख नियुक्तका विषयमा दलहरुबीच भागवन्डा गर्नेबारे एमालेले त्यति रुची नदेखाएको बालुवाटार स्रोतले बतायो।
स्रोतका अनुसार आज दलहरुसँग औपचारिक कुराकानी भएको हो, अब प्रधानमन्त्री देउवाले अनौपचारिक तह यी तीनै विषयमा परामर्श गर्नेछन्।
दलहरुबीच कुनै ठोस सहमति नभएपछि आज मन्त्रिपरिषद् बैठक पनि नबस्ने भएको छ।
यसअघि आजै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा चुनावको मिति, प्रदेश प्रमुख र अस्थायी राजधानीका विषयमा निर्णय गर्ने चर्चा थियो।