नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनलाई जनताले नयाँ युगको जिम्मेवारी दिएको बताएका छन्। सहिद दिवसका अवसरमा एक वक्तव्य जारी गर्दै समृद्ध राष्ट्र निर्माणको महाअभियानमा साथ र सहयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान पनि गरेका छन्।
लोकतान्त्रिक आन्दोलनका ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै ओलीले वक्तव्यमा भनेका छन्, ‘वाम गठबन्धनप्रति जनताको यस विश्वासप्रति हामी आभार प्रकट गर्न चाहन्छौं र यहाँहरुको विश्वासको उच्च सम्मान र कार्यान्वयन हुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं।’
ओलीले राजनीतिक स्थायित्व, सामाजिक न्याय र समानता, राष्ट्रिय स्वाधीनता तथा स्वाभिमान, सामाजिक सद्भाव एवं समृद्धिजस्ता जनताका चाहनाहरुलाई सम्बोधन गर्न आज एमाले र माओवादी केन्द्र गठबन्धनमा आवद्ध भएको बताएका छन्।
उखेलिएको राजतन्त्र पुनस्र्थापना गर्ने स्वीकारोक्ति र गलत कार्यले राणा शासनको अन्त्य भए पनि जनचाहना अनुसारको लोकतन्त्र स्थापना गर्न र जनताका हक अधिकार स्थापित गर्न भने विगत सात दशकसम्म नेपाली जनताले निरन्तर सङ्घर्ष गर्नु परेको ओलीको धारणा छ।
सहिदहरुको बलिदानीबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको संविधानसभाले संविधान जारी गरेर नेपालीहरुलाई अधिकार सम्पन्न बनाएको ओलीको आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्।
नेपालको राजनीतिक, सामाजिक,न्यायीक अधिकार प्राप्तिका लागि सहिदहरुले गरेको बलिदानीको स्मरण गर्दै ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य प्राप्त गर्नु नै सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन्।