पार्टी एकताबारे छलफल गर्न नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षसहितको एकता संयोजन समितिको बैठक आज बस्दैछ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो तीन बजे बैठक बस्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जानकारी दिएको छ।
पछिल्लो समय एकताबारे एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच एक्लाएक्लै वार्ता भएको थियो।
संयोजन समितिमा एमालेबाट झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेल छन् भने माओवादीबाट नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा ‘बादल’ छन्।
समिति सदस्य माओवादी नेता नारायणकाजी श्रेष्ठले आजको बैठकमा सामान्य छलफल हुने बताए। ‘पछिल्लो समय दुई अध्यक्षज्यू एक्लाएक्लै कुरा गर्नु भएको थियो, आजको बैठकमा तिनै विषयमा सामान्य छलफल हुन्छ,’ श्रेष्ठले सेतोपाटीसँग भने।
प्रतिनिधि र प्रदेश सभा चुनावमा गठबन्धन गरेर पार्टी एकताको गर्ने घोषणा गरेका एमाले र माओवादीले पछिल्लो समय एकीकृत पार्टीको नेतृत्व र सैद्धान्तिक कार्यदिशा टुंगो लगाउन सकेका छैनन्।
महाधिवेशनसम्म पार्टी अध्यक्ष को, कसरी हुने र पार्टीले माओवाद र जनताको बहुदलीय जनवादमध्ये कुनलाई सैद्धान्तिक कार्यदिशा मान्ने विषयमा दुबै पार्टीका फरक छन्।