दुई दिने नेपाल भ्रमणमा आएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई भेट्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सोल्टी होटल पुगेका छन्।
यादव र स्वराजबीच हिजो नै भेट्ने कार्यक्रम भए पनि राजधानीबाहिर रहेका यादव आइपुग्न ढिला भएकाले आज भेट भएको हो। बिहान ११ बजेदेखि यादव र स्वराजबीच झण्डै पौने घण्टा कुराकानी भएको हो।
भारतीय विदेश मन्त्रालयले भेटमा स्वराजले यादवलाई चुनावी जीतका लागि बधाई दिएकी थिइन्। नेपाल भारतबीचको जनस्तरको सम्बन्धलाई झनै मजबुद् बनाउनबारे छलफल भएको विदेश मन्त्रालयले जनाएको छ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका यादव स्वराजलाई एक्लै भेटेका थिए। स्वराज त्यही होटलमा बसेकी छन्।
यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले स्वराजसँग एक्लै भेटवार्ता गरेका थिए। बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सोही होटलमा स्वराजसँग ‘वान टु वान’ भेट गरेका थिए।
ओली र स्वराजको एक्लाएक्लै भेटवार्तापछि एमाले नेताहरुसँग स्वराजको सामुहिक भेट भएको थियो।
स्वराजले हिजो राति एमाले नेताहरुसँग सामुहिक रात्रीभोज पनि गरेकी थिइन्।
राजपाका नेताहरुले भने सामुहिक रुपमा नै स्वराजलाई भेटेका थिए।
आजै स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै छिन्।
उनी आज साँझ भारत फर्कने कार्यक्रम छ।