पछिल्ला समय एमाले र माओवादी केन्द्रबीच असन्तुष्टि र दूरी बढ्दै गएका समाचारलाई मात दिँदै अन्तत बिहिबार नेपाली राजनीतिमा ठूलो एकीकरण भएको छ।
एकता प्रक्रिया शुरु गरेको करिब सात महिनापछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) औपचारिक रुपमा विघटन भई नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको छ।
गत वर्ष असोज १७ गते वाम गठबन्धन निर्माण गर्ने र पार्टी एकतासमेत गर्ने घोषणासहित दुई पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त घोषणापत्रका साथ जाने निर्णय गरेका थिए ।
फरकफरक राजनीतिक पृष्ठभूमिसहित राजनीतिक प्रक्रियामा सहभागी रहेका दुई ठूला कम्युनिस्ट पार्टीको एकताले नेपाली समाजमा सकारात्मक चेतनाको सञ्चार गरिदिएको छ । सात महिनाको अवधिमा अनेकन विवाद, शंका र आशंकालाई पूर्ण विराम लगाउँदै आजसम्म आइपुग्दा एकताले मूर्त रुप लिएको छ ।
एकता प्रक्रियामा सहभागी नेताहरुले जुनसुकै बेला पनि एकताको घोषणा हुने सम्भावना रहेको बताउँदै आएका थिए। बुधबार तत्कालीन दुई पार्टीका अध्यक्षद्वयको महत्वपूर्ण र सघन छलफलपछि एकता प्रक्रियाले अन्तिम निष्कर्ष पाएको हो।
यही सेरोफेरोमा बुधबार बिहान दुबै अध्यक्ष बालुवाटारमा गोप्य बैठकमा बसे। त्यही गोप्य बैठकले आज बिहीवार दुबैलाई एउटै पार्टीको अध्यक्षको रुपमा उभ्यायो।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भइ नेपाल कम्युनिष्ट पार्टी बनेको छ। नवगठित नेकपालाई बिहीवार नै निर्वाचन आयोगमा समेत दर्ता गरिएको छ।
बिहिबार बिहानै एमालेको पुरानो मुख्यालय रहेको स्थान बल्खुमा पुगेर मदन भण्डारी र जिवराज आश्रितलाई साक्षी राखि पार्टी एकता आजै टुंग्याउने उद्घोष गरे।
त्यसपछि बालुवाटारमा दुबै पार्टीका अध्यक्षसहितका शीर्ष नेताहरु बिहान १० बजेसँगै पुगेका थिए। बालुवाटारमा नवनिर्मित पार्कमा वृक्षारोपण गरेर एकताको सुरूवात गरे।
पार्टी एकता गर्दै एउटै पार्टी बन्दै बनाउँदै गरेका तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बालुवाटारमा हिरोसिमा र नागासाकीमा आणविक बम आक्रमणमा समेत नमरेको जापानी विरुवा जिंक्गो विलोवा रोपे।
बालुवाटारमा दिनभर नेता कार्यकर्ताहरुको रौनक बेग्दै थियो। कोही नेता कार्यकर्ताहरु गफिँदै थिए। कोही खुसी साट्दै।
त्यसपछि एमाले र माओवादीका केन्द्रीय सदस्यहरु एकताको निर्णय गर्न अन्तिम बैठकमा जुटे। एमालेले बालुवाटारमा बैठक डाकेको थियो भने माओवादीले खुमलटारमा।
दुबै बैठक सकिएलगत्तै खुमलटारबाट बालुवाटारमा माओवादीका केन्द्रीय नेताहरु फेरि बालुवाटार आइपुगे। त्यसपछि नेताहरुबीच अंकमाल, बधाई र खुसीयाली साटासाट गरे।
त्यसपछि बसेको संयुक्त बैठकले एकतालाई अनुमोदन गर्दै ओली र प्रचण्डको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको विधिवत निर्माण गर्यो।
बैठकले महासचिवमा विष्णु पौडल र प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दियो।
त्यसपछि ओली र प्रचण्डिसहित नेता कार्यकर्ता निर्वाचन आयोगमा पुगेर दल दर्ता गराए।
दिउँसैदेखि एकता घोषणा सभामा भेला भएका कार्यकर्तामाझ साँझ ६ बजे तिर शीर्ष नेता पुगे।
कार्यक्रम सुरु हुनु अगाडि नै हल कार्यकर्ताले भरिएको थियो। पछि पुगेका नेताहरु समेत हल बाहिरै देखिन्थे।
सभागृह परिसर प्रदर्शनीमार्गमा समेत नेताकार्यकर्ताको भिड थियो। कुनै आमसभामा सहभागी हुन आएका जस्तै कार्यकर्ताहरु सभागृह परिसरको चौरमा बसेका थिए।
ढिलो गरी सुरू भएको कार्यक्रमको स्वागत जनार्दन शर्माले गरेका थिए।
त्यसपछि वरिष्ठ नेता माधव नेपालले मन्तव्यसहित घोषणापत्र वाचन गरेर सुनाए। त्यसपछि प्रचण्ड र ओलीले पालै पालो सम्बोधन गर्दै अब नयाँ कम्युनिष्ट पार्टीको जन्म भएको उद्घोष गरे।
हेर्नुहोस् तस्बिरमा नेकपाको उदय: