नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आयोगमा बुझाएको स्थायी समितिमा २ मात्र महिला परेका छन्। केन्द्रीय समितिमा एक तिहाई महिला पुर्याउन नसकेको आरोप खेपिरहेको नेकपाको स्थायी समितिमा महिला सहभागिता निराशाजनक देखिएको हो।
तत्कालीन नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र तत्कालीन नेकपा माओवादी केन्द्रबाट पम्फा भुषाल मात्र स्थायी समितिमा परेका हुन्। यसअघि नेकपा माओवादी केन्द्रबाट ओनसरी घर्तीको नाम पनि स्थायी समितिमा चर्चामा थियो। तर, अन्तिम समयमा उनको नाम हटाइएको छ।
नेकपाका अध्यक्ष प्रचण्डले स्थायी समितिमा को-को रहने भन्ने नामावली अन्तिम समयसम्म सार्वजनिक गरेका थिएनन्। उनले सिधै निर्वाचन आयोगमा सूची बुझाउन नेताहरूलाई पठाएका हुन्। नेकपाका स्थायी समितिमा चार मधेसी मुलका नेता परेका छन्।
तत्कालीन एमालेबाट सत्यनारायण मण्डल र रघुवीर महासेठ तथा तत्कालीन माओवादी केन्द्रबाट मातृकाप्रसाद यादव र गणेश साह स्थायी समितिमा परेका हुन्। स्थायी समितिमा एकमात्र दलितका रूपमा छविलाल विश्वकर्मा परेका छन्।
४५ सदस्यीय स्थायी समितिमा तत्कालीन एमालेका २६ र नेकपा माओवादी केन्द्रका १९ जना छन्। २६ जना स्थायी सदस्य बनाउने क्रममा तत्कालीन एमालेले रघुजी पन्त, विष्णु रिमाल, बेदुराम भुषाल र रघुवीर महासेठको नाम थप गरेको छ।
तत्कालीन नेकपा माओवादी केन्द्रले भने पार्टी केन्द्रीय कार्यालयबाट स्थायी समितिका लागि सदस्यहरू चयन गरेको हो। नेकपाले यसअघि नै केन्द्रीय कार्यालय गठन गरिसकेको छ। केन्द्रीय कार्यालयमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, दुई वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा वामदेव गौतम, रामबहादुर थापा बादल र ईश्वर पोखरेल सदस्य रहेका छन्।
अब नेकपाको स्थायी समितिमा तत्कालीन एमालेबाट सुवासचन्द्र नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, मुकुन्द न्यौपाने, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल, रघुवीर महासेठ हुनेछन्।
तत्कालीन नेकपा माओवादी केन्द्रबाट देव गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्नि सापकोटा, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिकाप्रसाद यादव, गणेश साह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लिलामणि पोखरेल र मणि थापा परेका छन्।
पौडेल नयाँ शक्ति छाडेर पूर्व माओवादी फर्किएका थिए। त्यस्तै, साहले आफ्नो पार्टी नेकपा संयुक्त चुनाव अघि नेकपा माओवादी केन्द्रमा मिसाएका थिए।