परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रमाण नष्ट गरिएकाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नहरू पक्राउ पर्न नसकेको बताएका छन्।
मंगलबार सुर्खेतमा आयोजित एक कार्यक्रममा मन्त्री ज्ञवालीले घटनालगत्तै प्रहरीकै मिलेमतोमा प्रमाण नष्ट गरिएको बताए।
‘निर्मला पन्तका लागि न्यायको विषय अहिले यो देशको प्रमुख विषय बनेको छ’ मन्त्री ज्ञवालीले भने, ‘विगतमा न्याय दिलाउन प्रमुख भूमिका खेल्नु पर्नेहरूबाट नै प्रमाण नष्ट भएको छ, त्यसकारण पनि निर्मला पन्तको न्यायमा ढिलाइ भएको हो।’
उनले सरकारले निर्मला पन्त हत्या काण्डलाई गम्भीरतापूर्वक हेरिरहेकोले न्याय मिल्ने विश्वास व्यक्त गरे।
‘अनुसन्धानका क्रममा केही ढिलाइ भएको मात्र हो, तर निर्मलाका हत्यारा पक्कै पक्रिने छन् भन्नेमा मलाई विश्वास छ’ ज्ञवालीले भने, ‘सरकारले यस घटनालाई गम्भीरतापूर्वक हेरेको छ, निर्मलाका आफन्तले न्याय पाउँछन्।’
निर्मलाको साउन १० बलात्कारपछि हत्या भएको थियो। घटनाको चार महिना बितिसक्दा पनि संलग्नहरू पक्राउ पर्न सकेका छैनन।