कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले समाजलाई भ्रष्टाचारविरूद्धको संस्कृतिको रूपमा विकास गरेमा भ्रष्टाचार अन्त्य हुने बताएका छन्।
भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशले यस अभियानलाई दृढतापूर्वक अघि बढाएमा विकास निर्माणमा समृद्धि हुने बताए।
‘भ्रष्टाचार समृद्धिको क्यान्सरको रूपमा देखिएको छ, जसको कारणले देश शिथिल भएको छ,’ मन्त्री भण्डारीले भने, ‘यसप्रति समाजको नजरिया गलत भएकाले पनि भ्रष्टाचार मौलाइरहेको देखिन्छ।’
भ्रष्टाचार प्रवृत्तिलाई अन्त्य गर्न सबै एकजुट हुनुपर्ने उनले औंल्याए।
‘कर्मचारीलाई पुग्ने तलब छ र उनीहरू त्यसमै सन्तोष हुनुपर्छ,’ मन्त्री भण्डारीले भने, ‘त्यसैगरी जनप्रतिनिधिहरू पनि तलबमा सन्तोष हुनुपर्छ।’
पैसाको लेनदेन मात्र नभइ सेवा प्रवाह नदिनु पनि भ्रष्टाचार भएको भन्दै उनले सेवालाई प्रभावकारी बनाउनुपर्ने औंल्याए।