राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको कार्यकाल जनअपेक्षाअनुसार नभएको बताएका छन्। पार्टी कार्यकर्तालाई प्रदेशस्तरीय प्रशिक्षण दिन सुर्खेत पुगेका थापाले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी सरकारको कामबारे टिप्पणी गरेका हुन्।
‘जतिबेला चुनाव थियो त्यतिबेला वर्तमान सरकारमा रहेको पार्टीले राष्ट्रियताका राम्रै मुद्दा उठाएका थियो, त्यसकारण पनि जनताले बहुमत प्रदान गरे’ अध्यक्ष थापाले भने, ‘जनताले जुन एजेण्डाका आधारमा अपेक्षा गरेका थिए, त्यसअनुसार सरकारको एक वर्षसम्मको काम देखिएन।’
जनताले अपेक्षा अनुसारको सरकारबाट अनुभुति गर्न नपाएकोले सरकार असफल हुँदै गएको उनले बताए ।
सरकारको तामझामपूर्ण सहभागिता आपत्तिजनक
अध्यक्ष थापाले केही दिनअघि भएको एसिया प्यासिफिक समिटमा सरकारले जनाएको तामझामपूर्ण सहभागिता आपत्तिजनक रहेको बताए।
धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको उत्साहपूर्ण सहभागिताले अल्पसंख्यकलाई रिझाउने नाममा बहुसंख्यकको विचार र आस्थामाथि सरकारले आघात पुर्याएको थापाको टिप्पणी छ।
हिन्दुराष्ट्रका लागि जनसंघर्ष
थापाले देशमा हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित पार्टीले देशभर जनसंघर्ष गर्न लागेको बताएका छन्। पार्टीले गर्न लागेको जनसंघर्ष कुनै धर्म, पार्टीको विरोध नभई हिन्दु राष्ट्र पुनःस्थापनासँगै देशमा रहेको विकृति अन्त्यका लागि एकखालको जनदबाब भएको उनले बताए।
जनसंघर्षका लागि देशका सबै प्रदेशमा पुगेर कार्यकर्ताहरुलाई प्रशिक्षण दिने अध्यक्ष थापाले जानकारी दिए।
उनका अनुसार पुस र माघमा देशका सबै स्थानीय तहमा पार्टीको संगठन निर्माण गर्ने र फागुन ७ गतेबाट देशव्यापी रुपमा हिन्दू राष्ट्र पुनःस्थापनाको मागसहित जनसंघर्ष सुरू गरिने छ।