भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले प्रदेश सफल भएमा संघीयता सफल हुने बताएकी छन्।
मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०७४/०७५ को प्रदेशस्तरीय समिक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत आएकी मन्त्री अर्यालले संविधानले व्यवस्था गरेको संघीयतासम्बन्धी व्यवस्था सफल हुनका लागि प्रदेश सरकार सफल हुनुपर्ने औंल्याइन्।
उनले स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिइन्।
‘देशमा रहेका संघदेखि स्थानीय तहसम्मका सरकार समन्वयात्मक रूपमा अघि बढ्नुपर्छ,’ मन्त्री अर्यालले भनिन्, ‘स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय नभए देशमा दुर्घटना निम्तिन सक्छ।’
संघमा केही अभ्यास गनुपर्ने भएकाले सबै तहमा अधिकारी प्रत्यायोजनका लागि समय लाग्ने समेत उनले बताइन्। संघीयताको अभ्यास देशमा सुरूआती चरणमा रहेकोले सुरूको समयमा संघ बलियो देखिनु स्वभाविकै भएको मन्त्री अर्यालको भनाइ छ।
मन्त्री अर्यालले प्रदेश सरकारले स्थानीय साधनस्रोतको परिचालन गर्न सकेमा आफैं बलियो हुने बताइन्।
‘हामीले अन्य देशको संघीयता पनि हेरेका छौं, कतिपय देशमा संघभन्दा प्रदेश बलियो रहेका छन्, त्यहाँ साधनस्रोतको परिचालन गरिएको छ,’ उनले भनिन्, ‘यसरी हामीसँग पनि यो भूमिमा रहेको साधनस्रोतको परिचालन गर्न सकेमा प्रदेश बलियो, संघ कमजोर हुने अवस्था आउन सक्छ।’
अव्यवस्थित सुकुम्वासी बस्ती व्यवस्थापन, गुठी जग्गा व्यवस्थापन, भूमि उपयोगलगायतका विषयमा मन्त्रालयले ऐन बनाएको मन्त्री अर्यालले जानकारी दिइन्। उनका अनुसार गुठी जग्गालाई प्राधिकरण लैजानगरी मन्त्रालयले ऐन बनाएको छ। मन्त्रालयले बनाएको भू–उपयोगसम्बन्धी ऐन पारित भएपछि उपयोगका आधारमा जग्गाको वर्गीकरण हुने उनले बताइन्।
मन्त्री अर्यालले केन्द्र सरकार अहिले आन्तरिक तयारीमा रहेकोले तयारी पूरा भएपछि जनतामाझ गरेका प्रतिवद्धता पूरा गर्नतर्फ लाग्ने समेत बताएकी छन्।