कर्णाली प्रदेश सभाका सदस्य ठम्मर विष्टले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सन्तुलित नभएको भन्दै आपत्ति जनाएका छन्।
उनले मुख्यमन्त्री कार्यालयमा शिर्षक नखुलाएर कार्यक्रम भनेर बजेट राखिनु, मन्त्री केन्द्रित हुनेगरी बजेट विनियोजन गरिनुले सन्तुलित रूपमा बजेट नआएको टिप्पणी गरेका छन्।
बुधबारको सदनमा बोल्दै उनले भने, ‘पोहोर त बजेटमा असन्तुलित भएको थियो, अहिले त पूरै शिर्षकमै असन्तुलित भयो। यो सबै के मन्त्री केन्द्रित कि प्रतिपक्षी दलको नेता केन्द्रित, कि त प्रदेशको मुख्य नेतृत्व केन्द्रित भएर आएको छ, यसमा गम्भीर आपत्ति छ।’
बजेट वक्तव्यमा अन्तरप्रदेश जोड्ने सडक भनिएको तर त्यसको तल गाउँपालिका र जिल्ला जोड्ने सडक राखिएकोमा पनि उनले आपत्ति जनाए।
‘सायद अर्थमन्त्रीलाई राम्ररी थाहा छ मेरो भूगोलको, मैले जहाँ नेतृत्व गर्छु,’ उनले भने, ‘मेहलकुनादेखि बडाखोली, सल्यान हुँदै खड्कवाड जाने त्यो प्रदेश नम्बर ५ को सडक हो। बरु त्यो हालौं न, त्यो राख्न म अनुरोध गर्दछु। यहाँ किन अन्तरपालिका र अन्तरजिल्लाको राखियो ? जहाँकी अन्तरप्रदेश भनेर चिटिङ किन भयो ? यो म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’
सांसद विष्टले पर्यटकीय क्षेत्र छनोटका विषयमा पनि आपत्ति जनाएका छन्।
प्रदेशका पर्यटन मन्त्रीसँग बसेर आफूले आफ्नो क्षेत्रको पर्यटकीय क्षेत्रको नाम दिए पनि उक्त क्षेत्र छनोट भएका पर्यटकीय गन्तव्यभित्र नपरेको बताए।
पर्यटन मन्त्रीलाई इंगित गर्दै उनले भने, ‘तपाईंकै कार्यकक्षमा बसेर हामीले २४ वटा क्षेत्रमा एक/एक पर्यटन क्षेत्र दिऔं भन्दाखेरि मैले राजकाँडा दरबार भनेर दिएको थिएँ। तर आज झण्डै तीन दर्जन पर्यटन क्षेत्र पर्दाखेरि हाम्रो क्षेत्र नपर्ने ? के त्यहाँ सबै मरुभूमि छ ? सबै जलासय छ ?’
उनले थपे, ‘अहिले मात्र यो प्रदेशको सबभन्दा नयाँ गुफा मेरो क्षेत्र मालारानीमा पत्ता लागेको छ, त्यहाँ हजार २ हजार मानिस अट्छ। पर्यटन मन्त्रीले कहाँ हेर्नुभो ? अरु मुख्यमन्त्री, सरकारका प्रमुखले कहाँ हेर्नुभो ? तपाईंहरूलाई जहाँ–जहाँ स्वाद लाग्यो तपाईंहरूको अगाडिको ढुंगो पनि पर्यटन क्षेत्र हुने, अन्यत्र सिलाजित छ भने पनि त्यसलाई खुर्पाको बिँड बनाउने ? यो कुरामा पनि गम्भीर आपत्ति छ।’
सरकारले बजेटमा वृक्षरोपणदेखि सडक सौन्दर्य, राजधानीलाई धूँवाधूलोमुक्त सहर बनाउने, विद्युतीय गाडी, साइकलमैत्री, अपांगमैत्री बनाउने योजना बनाएको तर बजेट कम हालिएको भन्दै उनले आपत्ति जनाए।
‘पैसा जति झण्डै १० अर्ब त्यहाँ डल्लो बनाएर राखिहाल्ने मुख्यमन्त्री र अर्थमन्त्रीले। अनि बाँकी अरु चालू बनाएर राखिहाल्ने। अनि ४/५ अर्बले यी धेरै योजना के गर्ने हो हामीले? लेखेर मात्र हुन्छ? त्यसैले यसलाई तुरुन्तै सच्याएर हाल्नुपर्यो,’ सांसद विष्टले भने।
उनले वीरेन्द्रनगरलाई केही करोडमात्र छुट्याएर नहुने भन्दै उनले कम्तीमा एक/एक अर्ब सडक, पानी लगायतका योजनाका लागि छुट्याउनुपर्ने माग गरे।
निर्वाचन क्षेत्र कोषको व्यवस्था गर्नैपर्ने माग गर्दै उनले भने, ‘६ वटा प्रदेशमा निर्वाचन क्षेत्र कोषको व्यवस्था गरेका छन्, भने हामीले गर्दा के हुन्छ ? त्यो के चोरी हो र ? हामीले जनताकै लागि गर्ने हो नि!’
सांसद विष्टले प्रदेश सरकारले कर्मचारी, संरचना, कानुन अभावका कारण अघिका बजेट कार्यान्वयन हुन सकेन भनेर जनतासँग झूटो बोलेको बताए।
विष्टले भने, ‘त्यहाँ लेखिएको छ, कर्मचारीको कारण, कानुनको कारण बजेट कार्यान्वयन भएन, काम भएन । त्यसो होइन, तपाईंहरूको अनुभवका कारण, प्रभावकारिता हिन भएका कारण पनि लेख्नुस् त्यहाँ। किन जनतालाई झूट बोल्ने।’
बजेट सन्तुलित बनाउन प्रतिपक्षी दलको नेतालाई चुनौती
सांसद विष्टले कर्णाली प्रदेश सरकारले ल्याएको असन्तुलित बजेटलाई सन्तुलित बनाएर पारित गर्न बाध्य बनाउन प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीलाई चुनौती दिएका छन्।
असन्तुलित बजेट, जनताको निराशा, कार्यान्वयनमा सुस्तता जस्ता विषयमा सरकार प्रमुख र प्रतिपक्षी दलका नेता जिम्मेवार रहेको उनको भनाइ छ।
‘हामीले अहिलेसम्म जे भोगिरेका छौं, जे भोग्ने छौं, त्यो सरकार, मुख्यमन्त्री, प्रतिपक्षी दलको नेता, सभामुखलगायत नेतृत्व विशेषगरी जिम्मेवार छ,’ उनले भने।
सांसद विष्टले बजेट सन्तुलित, व्यवस्थित र पुनःमार्जित नभए सरकारका प्रमुख र प्रतिपक्षी दलका नेता कठघरामा उभिनुपर्ने चेतावनी दिए।
‘म फेरि पनि भन्न चाहन्छु, मुख्यमन्त्री, सरकार, प्रमुख प्रतिपक्षी दलको नेता, सभामुख जिम्मेवार हुनुहुन्छ, यो बजेटलाई तुरुन्तै सन्तुलित बनाएर व्यवस्थित, पुनःमार्जित गर्ने ढंगले तपाईंहरूले साहस गर्नुपर्छ,’ विष्टले भने, ‘अन्यथा तपाईंहरू तीन/चार जना कठघरामा उभिनुपर्ने छ, क्रमश: हाम्रो भागमा कति आउँछ, हामी पनि उभिने छौं।’