सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटेर नेपाल–भारत सीमा क्षेत्रमा राज्यको बलियो उपस्थित सुनिश्चित गर्न माग गरेको छ।
आइतबार संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले परराष्ट्रमन्त्री ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै कुटनीतिक पहलबाट सीमा विवाद हल गर्न आग्रह गरेका हुन्। भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपालका भूमि लिपुलेक र कालापानी लगायत समावेश भएपछि अनेरास्ववियूले भारतीय राजदूतावास घेराउसमेत गरेको थियो।
‘नेपालको अभिन्न भूभागको रुपमा रहेका लिम्पियाधुरा , कालापानी र लिपुलेक माथिको भारतीय दावीलाई खारेज गरी उच्चस्तरीय वार्ता, सम्वाद र कुटनैतिक तवरबाट सदाका लागि सीमा समस्या समाधान गरियोस्,’ परराष्ट्र मन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘भारतसँग विवादमा रहेका सन्धि, सिमा, व्यापार लगायतका विषय हल गर्न गठित एमिनेन्ट पर्सन्स ग्रुप (इपिजी)को प्रतिवेदनलाई दुवै देशका प्रधानमन्त्रीले तत्काल ग्रहण गर्ने वातावरण बनाई सम्पुर्ण समस्याको एकमुष्ट र एकीकृत समाधान गरियोस्।’
अनेरास्ववियूले कतिपय ठाउँमा चीनसँग पनि सीमा विवाद रहेको उल्लेख गर्दै समाधानको बाटो खोल्न मन्त्री ज्ञवालीलाई आग्रह गरेको छ। ‘कतिपय ठाउँमा चीनसँग समेत सिमा विवाद रहेको देखिन आएकाले त्यसलाई कुटनीतिक पहल मार्फत अविलम्ब समाधान गर्नुपर्छ,’ भेटपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूमिमा राखिएका भारतीय सेनाहरुलाई तत्काल फिर्ता गराउन कुटनीतिक पहलकदमी सुरु गरियोस्।’
साथै सीमा समस्याको दीर्घकालिन समाधानको निम्ति वैज्ञानिक सिमांकन प्रणाली कायम गर्न पनि अनेरास्ववियूले माग गरेको छ। ‘सीमा क्षेत्रमा राज्यको बलियो र प्रभावकारी उपस्थिति सुनिश्चित गरियोस्,’ विज्ञप्तिमा भनिएको छ।
विद्यार्थीले बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री ज्ञवालीले बलमिच्याइँबाट भारतले एकतर्फी रुपमा नक्सा जारी गरको उल्लेख गरेका थिए। उनले भने, ‘नक्सा सच्याउन हामीले कुटनीतिक र राजनीतिक पहलकदमी सुरू गरेका छौं।’