महोत्तरी जिल्लामा चार वटा विभिन्न पद चारै दलका पोल्टामा परेका छन्।
उपनिर्वाचनमा जिल्लाको एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एक एक पदमा निर्वाचित भएका छन् ।
पिपरा गाउँपालिकाका अध्यक्षमा (नेकपा) का विक्रम चौधरी तीन हजार २४९ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले तीन हजार ४१ मत ल्याए।
त्यस्तै बलवा नगरपालिका–२ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा काँग्रेसका विपीन पञ्जीयार सुडी ४६१ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी राजपाका वृजलाल साह सुडीले ३५२ मत प्राप्त गरे।
यसैगरी बलवा ८ मा भएको वडाध्यक्षको निर्वाचनमा समाजवादी पार्टीका रामबाबु महतो ६५९ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका निर्मल यादवले ३४६ मत ल्याए।
त्यसैगरी मटिहानी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षमा राजपाका रामबाबु नायक ३७५ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका जाकिर अन्सारीले ३५५ मत ल्याएका छन्।
विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पिपरा गाउँपालिका अध्यक्षमा राजपा विजयी भएको थियो भने यसपाली नेकपाले बाजी मारेको हो।
अन्य तीन स्थानमा पुनः पहिले जितेका दल नै दोहोरिएका छन्। बलवा–२ मा यसअघि पनि काँग्रेसले नै बाजी मारेको थियो। त्यस्तै वडा नं ८ मा पनि यसअघि समाजवादी पार्टी तथा मटिहानी –६ मा यसअघि राजपाले नै जितेका थिए।
(रासस)